
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोका कारण दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ।
शुक्रबार गएको पहिरोले लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो । प्रसारण लाइनमा समस्या आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएकोमा प्राधिकरणले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिएको विद्युत प्राधिकरण हटलाइन सेवाले जनाएको छ ।
प्राधिकरणले हापुरे सब स्टेशनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योग सञ्चालित छन् ।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुन: स्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्ति दिने भएकाे छ । इआरएस टावर जडानका लागि सर्वेक्षण गर्न टोली खटाइएको छ । टावर जडान सम्पन्न गर्न केहीदिन लाग्ने जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्