
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारुढ गठबन्धनको तर्फबाट मानुसी यमी भट्टराईले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
आइतबार निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यलयमा पुगि उहाँले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नयाँ पुस्ताको आवाज बुलन्द बनाउन, राज्यका अंगलाई सबलीकरण र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले मतदाताहरुले जिताउनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालीहरुले नेपालमै सम्मानजनक काम गर्न पाउने वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, नेकपा एमालेका नेता रामवीर मानन्धरले पनि काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको बताउनुभयो । उहाँले देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनु भयो ।
गठबन्धनबाट यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका वसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सविन तामाङ उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्