
काठमाडौं । संसदमा फूर्तिफार्ति देखाउने धेरै नेताहरु यसपल्ट शीर्ष नेताको कृपादृष्टिमा नपर्दा टिकटबाटै वञ्चित भएका छन् । कांग्रेस, एमाले, माओवादीमा देखिएको छ । उनीहरुले उम्मेदवारी शिफारिस गर्दा सिद्धान्त, विधि, प्रक्रिया र पद्दतिको कुनै मापदण्ड उपयोग नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएपनि स्वतन्त्र उम्मेदवारी दिने विषयमा केही बोलेका छैनन् ।
सार्वजनिक चासोका विषयमा संसदमा कुनै पनि विषयमा निर्भिकतापूर्वक आफ्नो विचार राख्ने कांग्रेस नेता डा. मिनेन्द्र रिजाल आगामी मंसिर ४ पछि गठन हुने संसदमा देखिनु हुने छैन । कांग्रेसका तात्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्र नम्बर २ मा डा. रिजालले आफ्नो राजनीतिक करिअरमा लडेको पहिलो संसदीय चुनावमा विजय हात पार्नुभएको थियो । तर यो निर्वाचन क्षेत्रमा देउवाले गिरिजाप्रसादकी छोरी सुजाता कोइरालालाई टिकट दिएपछि मीनेन्द्रको राजनीतिक यात्रामा धक्का दिएको छ ।
हार्वर्ड विश्वविद्यालयमा दीक्षित भई पछिल्लो समय आकर्षक अन्तर्राष्ट्रिय परामर्शदाताको जागिर छोडेर राजनीतिक मैदानमा खडा डा. स्वर्णिम वाग्लेका लागि टिकट माछा माछा भ्यागुतो भएको छ । उहाँ कहलिएको दिग्गज अर्थशास्त्री मानिनुहुन्छ । अर्थशास्त्रीको पृष्ठभूमि भएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल दाहिना पार्टी सभापति शेरबहादुर देउवाको दाहिना भएपछि वाग्ले कर्नरमा पारिनुभएको हो । उहाँ काठमाडौं वा गोर्खाबाट प्रत्याशी हुन इच्छुक हुनुहुन्थ्यो ।
एमाले अध्यक्ष पदमा उम्मेदवारी दिएर वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिने भीम रावल नेतृत्वको पूर्वाग्रहको शिकार हुनुभएको छ । पछिल्लो समय विद्यावारिधि रावल संसदमा जुनसुकै विषयमा धाराप्रवाह बोल्ने मात्र होइन, हरेक सूचना लिपिवद्ध गर्ने नेतामध्ये पर्नुहुन्छ । अछाम १ बाट निरन्तर प्रतिनिधित्व गर्दै आउनुभएका रावलको क्षेत्रमा उहाँकै नातेदार तथा राजनीतिक चेलो झपट रावललाई प्रत्याशी बनाइएको छ ।
एमालेभित्र वौद्धिक र वाक्पटु नेताको छवि रहेका घनश्याम भुसाल राजनीतिक तेजोबधको शिकार हुनुभएको छ । पार्टी नेतृत्वप्रति असहमति जनाएको निहुँमा उहाँ पनि टिकटका लागि योग्य ठहरिनुभएन । सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र हैसियतमा उहाँ रुपन्देही १ बाट उम्मेदवार बन्दै हुनुहुन्छ । टिकट नपाएको झ्वाँकमा भुसालले एमाले नै परित्याग गर्नुभएको छ । यसैगरी एमाले नेता योगेन्द्र शाहीले पनि टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टी छोड्नु भएको छ । उहाँ पार्टी अर्थ तथा योजना विभागको सचिव हुनुहुन्थ्यो । नेपाल विद्यार्थी संघको महामन्त्री रहिसकेका कांग्रेस युवा नेता किरण पौडेलले पार्टीले पटक पटक मानमर्दन गरेको भन्दै पार्टी छोड्ने घोषणा गर्नुभएको छ ।
माओवादीका केन्द्रीय प्रभावशाली नेता हरिबोल गजुरेल पनि नेतृत्वको कोपभाजमा पर्नुभएको छ । सिन्धुली २ बाट आफ्नो वर्चस्व राख्दै आउनुभएका उहाँले यसपल्ट नेतृत्वले कतै पनि पत्याएन । मुख्यमन्त्री हुँदा न हाँस, न बकुल्लाको चालका रुपमा टिप्पणी खेप्दै आएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि नेतृत्वको नजरमा पर्नुभएन । बरु उहाँकै स्वकीय सचिव शिवसिंह ओली मुख्यमन्त्रीको भाग खोस्न सफल हुनुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाका निकट मानिने मिन विश्वकर्माका लागि पनि संसदको यात्रा कठिन बनेको छ । कांग्रेसका चर्चित पात्र डा. अमरेश कुमार सिंहलाई टिकट दिन पार्टीले आवश्यक ठानेन ।
माओवादी राजनीतिमा सधैं ओझेलमा पारिँदै आएका युवा नेता लेखनाथ न्यौपानेको एजेण्डा समेत ल्याइएन । उहाँले पटक पटक आफू बसको टिकटका लागि मात्र योग्य रहेको भन्दै आउनुभएको थियो । संसदमा हुने लडन्त भीडन्तमा अग्रपंक्तिमा रहने एमाले नेतृ गंगा चौधरीले टिकट नपाएकै रन्कोमा पार्टी छोडेर दाङबाट स्वतन्त्र उठ्ने घोषणा गर्नुभएको छ । विद्यार्थी राजनीतिबाट उदाएका कांग्रेस नेता गुरुराज घिमिरे र भूपेन्द्रजंग शाहीका लागि सांसद बन्ने रहर पाँच वर्षका लागि धकेलिएको छ । घिमिरे नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा महामन्त्री रहेका गगन थापा अहिले पार्टी महामन्त्री हुनुहुन्छ ।
यसैगरी पोखराका व्यवसायी विन्दुकुमार थापालाई प्रदेशको टिकट दिएपछि प्रदेशमन्त्री कुमार खडका हिस्स पर्नुभएको छ । एकातिर पार्टीबाट यस्ता पात्र निरीह बनेका छन् भने सबै पार्टीमा डनबाद र धनबादको प्रभुत्व बढ्दै गएको देखिन्छ । जुन लोकतन्त्रका लागि अनिष्ट हो ।
प्रतिक्रिया दिनुहोस्