
बैतडी । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी दर्ता भएकाे छ ।
प्रदेश र प्रतिनिधिसभा दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीले जनाएको छ ।प्रतिनिधि सभाको लागि एकमात्रै क्षेत्र रहेकोमा १२ जनाको उम्मेदवारी परेको हो । त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ मा ६ जना र प्रदेश सभा क्षेत्र नम्बर २ मा ५ जनाको उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभामा उम्मेदवारी पर्नेमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर, नेकपा एमालेका दामोदर भण्डारी, राप्रपाबाट प्रेमबहादुर चन्द, राप्रपा नेपालबाट हिम्मत चन्द, पिपुल्स पार्टीका कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, नेमकिपा कृष्णप्रसाद गोसाई र आनसिंह भण्डारी जनता समाजवादी पार्टीकातर्फबाट रहेका छन्।
साथै प्रतिनिधिसभाकै लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा केशवबहादुर चन्द, परमानन्द भट्ट , मानसिंह विष्ट र त्रिलोक बहादुर चन्द रहेका छन् । केशवबहादुर चन्द नेपाली कांग्रेस र भट्ट नेकपा एकीकृत समाजवादीका रहेका र टिकट वितरणमा असन्तुष्टि रहेकाले स्वतन्त्र उम्मेदवारी दिएको बुझिएको छ ।
त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ का लागि गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्ण पन्त, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् । भण्डारी नेपाली कांग्रेसबाट टिकटको दौडमा रहेपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे ।
प्रदेशसभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा एमालेका लिलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायण दत्त जोशीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएकाहरूमध्ये फिर्ता लिन चाहनेले यहि असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेभित्र फिर्ता लिन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्