
काठमाडौं । केही वर्षअघिसम्म राजनीतिमा एकाध उद्योग व्यवसायीको चाख देखिने गरेकोमा अहिले मूलधार राजनीतिमै उनीहरुको प्रत्यक्ष हाली मुहाली देखिने गरेको छ । संघीय तथा प्रदेशको चुनाव उद्योगी, व्यवसायी, बैंकर्सदेखि निर्माण व्यवसायी चुनावी मैदानमा छन् । सरकारको नीति तथा कार्यक्रममा घराना व्यवसायीहरुको छायाँ परेको विवाद राष्ट्रिय मुद्दा बन्दै जाँदा अर्थमन्त्री जनार्दन शर्माले पदबाट हात धुनु परेको थियो ।
मूलधारका राजनीतिक पार्टीका चुल्हो चौकोमासमेत व्यवसायीहरुले अखडा जमाइसकेका छन् । उनीहरुले शीर्ष नेताहरुको विश्वास यतिसम्म जितेका छन् कि आफ्नो टिकट सुरक्षित गर्नु त सामान्य भयो, राजनीति गरेर कपाल पाकेकाहरु राजनीतिकर्मीहरु शीर्ष नेताकोमा कुरा पु¥याउन व्यापारीको घाँटी उपयोग गर्नुपर्ने अवस्था आएको छ । आफ्नो हाली मुहाली नचल्ने भएपछि नेपाल उद्योग वाणिज्य महासंघको समानान्तर संस्था नेपाल उद्योग परिसंघ खोलेका उद्योगपति विनोद चौधरी पहिलो संविधानसभामा एमालेबाट समानुपातिकबाट सांसद हुनुभयो । त्यसपछि कांग्रेस प्रवेश गर्नुभएका उहाँ अहिले प्रधानमन्त्री देउवाका निकट सहयोगी मानिनुहुन्छ । उहाँ कांग्रेसको टिकटबाट नवलपरासीबाट संघीय संसदका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
शिक्षा, बैंक, जलविद्युत र कृषिमा देशैभरि लगानी गर्नुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ मा प्रत्यासी बन्नुभएको छ । यसअघि दुई पटक समानुपातिक हैसियतमा उहाँ संसद प्रवेश गरिसक्नुभएको छ । पटक पटक मन्त्री भएका जग्गा व्यवसायी किसान श्रेष्ठ गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र ४ बाट उम्मेदवार हुनुहुन्छ । नेपालकै अग्रणी निर्माण व्यवसायी विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्नुभएको छ । यसअघि उहाँ माओवादी अध्यक्ष प्रचण्डसँग पराजित हुनुभएको थियो ।
निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट चुनावी मैदानमा हुनुहुन्छ । यसअघि सोही जिल्लाबाट उहाँ प्रतिनिधित्व गर्नुहुन्थ्यो । पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसको उम्मेदवार बन्नुभएको छ । जलविद्युत र रेष्टुराँ व्यवसायी दीपक खड्कालाई कांग्रेसले संखुवासभाको उम्मेदवार पत्याएको छ । उहाँ त्यहाँको पार्टी सभापति पनि हो । निर्माण व्यवसायी अमरसिंह पुन, मेनपावर व्यवसायी टेकप्रसाद गुरुङ, मेडिकल व्यवसायी सुनिल शर्मा, व्यवसायी अजयकुमार चौरसिया शीर्ष नेताको विश्वास जित्न सफल हुनुभएको छ । समाज डेन्टलका सञ्चालक श्याम घिमिरे कांग्रेसको प्रतिनिधित्व गरी सिन्धुलीबाट प्रत्यासी हुनुहुन्छ ।
फेल्ट एसोसिसन नेपालका निवर्तमान अध्यक्ष अमृत खड्काले ललितपुर ३ मा एमालेबाट उम्मेदवारी दिनुभएको छ । बंैक सञ्चालक डा. वीरेन्द्र महतो जनता समाजवादी पार्टी (जसपा) बाट चुनावी मैदानमा हुनुहुन्छ । उहाँ माछापुच्छ«े बैंकका अध्यक्ष रहँदै आउनुभएको छ । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बुले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका साँवा यसअघि सांसद हुनुहुन्थ्यो । निर्माण व्यवसायी पूर्णबहादुर तामाङ रामेछापबाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । यसअघि थोरै मतले पराजित हुनुभएको थियो ।
पर्यटन व्यवसायी सुमन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह लिएर चुनावी मैदानमा देखिनुभएको छ । व्यवसायी आकर्षण पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ लाई चुनावी क्षेत्र रोज्नुभएको छ । गैरआवासीय नेपाली पोखरेलले कमलादीमा एसियाकै पहिलो स्काइवाक टावर बनाउँदै हुनुहुन्छ । उम्मेदवारी दिनेमा यस पटक उद्योगी व्यवसायीको संख्या उत्साहजनक देखिएको छ । कांग्रेस पृष्ठभूमिका देवी प्रसाद भटट्चन समानुपातिकको टिकट पाउने भएपछि रातारात एमाले प्रवेश गर्नुभएको छ । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र व्यवसायी अनिल रुंगटा समानुपातिक सूचिमा पर्नुभएको छ । व्यवसायीहरुले राजनीतिलाई हतियार बनाएर आफ्नो दुनो सोझ्याउने उद्देश्य पालेको भए त्यो झन घातक प्रमाणित हुने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्