१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्को हप्तासम्म मौसमी बर्षात् कायमै रहने


429
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी बर्षात् रहिरहने पूर्वानूमान गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराउनुभएको हो ।

बुधबार उहाँले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताउनुभयो । वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पार्नुभयो ।

बर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँले बताउनुभयो । वरिष्ठ मौसमविद् रेग्मीले भन्नुभयो, ‘अहिले तत्कालै आज भोलिनै मौसम बाहिरिने सम्भावना छैन् । तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । अब हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाँही मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं । बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौं उचित समयमा । अव धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन । मनसुन पछाडिका अरु समयमा पनि त्यस्ता खालको मौसमी गतिविधिहरु हुन सक्छ । त्यसकारणले मौसम सकिएपनि त्यस्ता जोखिम निम्तन नसक्ने भन्ने चाँही होइन ।’

विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताउनुभयो ।

उहाँले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताउनुभयो । वरिष्ठ मौसमविद् रेग्मीले भन्नुभयो, ‘भर्खर मौमस सकिदैछ अहिले । जल तथा मौसम विज्ञान विभागले अव आउँदो हिउँद कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्ने चाँही हामीले डिसेम्बर, जनवरी र फेबु्रअरी महिनालाई हामी हिउँदको मौसम भन्छौं । हिउँदमा वर्षातको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई हामी डिसेम्बर अगाडि नै सार्वजनिक गर्छौं ।’

विभागले मौसमी अवस्था बारे २४ घण्टा नै सेवा दिईरहने गर्दछ ।