
सिन्धुली । नेपालीहरूको मूख्य चाडपर्व दशैं सकिएसँगै सिन्धुलीका महाभारत क्षेत्रका किसानहरूलाई धानबाली भित्र्याउन चटारो परेको छ ।
महाभारत क्षेत्रका खेतमा यतिखेर पाकेर झुलेका धानबाली भित्र्याउन स्थानीय किसान अहिले व्यस्त छन् । सिन्धुलीको महाभारत क्षेत्रमा भने यसपाली समयमै वर्षा भएकाले धानको उत्पादन गुणस्तरीय नै रहेको जिल्ला कृषि ज्ञान केन्द्रको एक तथ्यांकले देखाएको छ ।
दशैं सकिएपछि तिहार अगाडी नै धानबाली भित्र्र्याउन देउसी, भैलो खेली रमाईलो गर्ने गरी धान खेतमा स्थानीय किसानहरू व्यस्त रहेको सुनकोशी मझुवाका किसान गणेश कार्कीले बताउनुभयो ।
सिन्धुलीको खेतीयोग्य जमिनको कूल क्षेत्रफल ४९ हजार ७ सय ८९ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष बाह्रै महिना सिंचाई हुने ८ हजार ८ सय २ र आंशिक रूपमा सिंचाई हुने ५ हजार ८ सय ७२ हेक्टर गरी कुल १४ हजार ५ सय ७४ क्षेत्रफलमा व्यवस्थित रूपमा धान खेती गरिएको छ ।
यसपाली सिन्धुलीमा लगाईएको सावित्री रामविलास, मकवानपुर–१, खुमल र हाईब्रिड जातको लोकनाथ गरी आधा दर्जन भन्दा बढी आधुनिक जातका धानबालीहरू राम्रो उत्पादन भएको छ ।
सिन्धुलीका पहाडी भू–भागहरूमा भने परम्परागत रुपमा मार्सी, कालोधान, लोकल बासमती धान समेत केही मात्रामा लगाइने गरिन्छ ।
धान खेतीका लागि गरम जलवायु नै उत्तम भएकाले सिन्धुलीको कमलाखोच, मरिणखोला र चदाहा लगाएकाका फांटहरूमा यसपाली धानबाली राम्रो उत्पादन भएको छ ।
सिन्धुलीमा प्रति हेक्टर ३ मेट्रिकटन धान उत्पादन हुने गर्दछ । यसवर्ष सिन्धुली जिल्लामा कुल ४३ हजार ७ सय २२ मेट्रिकटन धान बाली उत्पादन हुने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्