१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवौं राष्ट्रिय खेलकुद : आर्मीको बर्चस्व


0
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५ औ स्वर्ण पदक हो ।

फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए । फेन्सिङमा आर्मी टिम च्याम्पियन समेत बनेको छ । प्रतियोगिता अन्र्तगत पुरुष फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो ।

महिला फुटबलमा एपिएफले प्रदेश १ माथि ७–१ को सहज जित दर्ता गरेको छ । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ६ गोल गरेपछि एपिएफले सहज जित आत्मसात गरेको हो । प्रतियोगिता अन्र्तगत महिला भलिबल प्रतियोगितामा नेपाल पुलिसले जित हासिल गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता समेत बन्यो । पुरुष भलिवलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–१ ले हराउँदै समूह डीको विजेता बन्यो ।

बुद्धिचाल प्रतियोगितामा पेश जैसवाल र सुजना लोहनीले विजयी सुरुवात गरेका छन् । गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् ।

खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरीबलका विश्वविजय घिमिरेलाई पराजित गरे ।

प्रतियोगिता अन्र्तगत हालसम्म आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गर्दै पदक तालिकामा शीर्ष स्थानमा छ । बागमतिले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा छ भने प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेका छ ।