२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


अर्बपति विनोद चौधरीलाई चुनाव जित्न कति सहज ?


2.158k
Shares

नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।

यस क्षेत्रमा पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्न लाग्नु भएका अर्बपति विनोद चौधरी र ५ पटकसम्म चुनाव जितेर चुनावी अनुभव बटुल्न सफल भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो । यसले नवलपरासीको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको हो ।

राजनीतिक पृष्ठभूमिबाट नेपाली राजनीतिमा प्रवेश गर्नुभएका त्रिपाठी र व्यापारिक पृष्ठभूमिबाट केही वर्षअघिबाट मात्र राजनीतिमा लाग्नु भएका चौधरी अहिले नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेको समर्थनमा त्रिपाठीले जनता प्रगतिशिल पार्टीबाट उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट उद्योगपति चौधरीले उम्मेदवारी दिनुभएको छ ।

अन्तिम समयमा एमालेको सहयोगमा चुनाव लड्नु भएका त्रिपाठी र कांग्रेसका जिल्ला नेताहरुको असन्तुष्टीकाबीच टिकट ल्याउन सफल हुनभएका उद्योगपति चौधरीको चुनावी प्रतिस्पर्धा अहिले जिल्लाका लागि मात्र नभई देशकै लागि पनि रोचक बन्ने देखिएको छ ।

चौधरीको एकाएक नवलपरासी प्रवेशले उक्त क्षेत्रबाट चुनाव लड्ने चर्चामा रहनु भएका संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण कलवार सन्तुलाई धक्का मात्र लागेको छैन, असन्तुष्टी पनि बढेको छ ।

२०६४ सालमा एमाले र २०७४ सालमा कांग्रेसबाट समानुपातिक सदस्य बन्नु भएका चौधरीले पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा टिकट ल्याउन सफल बन्नु भएको हो ।

जिल्लाका कांग्रेस नेताहरुको साथ खोज्दै चौधरीले दलबलसहित नवलपरासी पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । तर उम्मेदवारी दर्ताको दिन यस क्षेत्रमा प्रभावशाली नेता मानिने कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालको हाउभाउले चौधरी प्रतिको असन्तुष्टी प्रष्टै देखिन्छ । उम्मेदवारीका दिन चौधरीले नेता खनाललाई पटक पटक बोलाए पनि उहाँ कतिबेला फोन त कतिबेला विभिन्न बहान बनाई बाहिर नै बसिरहेको दृष्यलाई विपक्षी दलका नेता कार्यकर्ताले रोचकपूर्वक हेरेका थिए ।

चौधरीले कांग्रेस भित्रको असन्तुष्टिको विषयमा प्रश्न गर्दा सबैको साथ पाएको दाबी गर्नुहुन्छ । २०४८ सालदेखि अहिलेसम्म भएका ६ वटा चुनावमा त्रिपाठीले एकपटक मात्र हार्नु भएको छ । उद्योगपति चौधरीसँगको प्रतिस्पर्धालाई नेता त्रिपाठीले पाहुना र पर्यटकको रुपमा संज्ञा दिनुभएको छ । चौधरीको उम्मेदवारीलाई त्रिपाठीले पाहुनालाई स्वागत मात्र गर्न सकिने तर सधैं भरी राखिराख्न नसकिने भन्दै प्रतिकृया दिनुभएको छ ।

गत २०७४ को चुनावमा नेता त्रिपाठीले एमालेको चिन्हबाट चुनाव जित्नु भएको थियो । एमालेका शीर्ष नेताहरुमार्फत एमालेको उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गर्न लगाउनु भएका नेता त्रिपाठी अहिले पनि चुनाव बाजी मार्ने रणनीतिमा हुनुहुन्छ । एकातिर एमालेको समर्थन र अर्कोतर्फ कांग्रेसकै असन्तुष्टीले फाइदा पुग्ने सोंचले नेता त्रिपाठी हौसिनु भएको छ ।

विगतमा जिल्लाको कुनै राजनीतिक पृष्ठभूमी नबनाई पार्टी संगठन बलियो भएकै भरमा नवलपरासीमा चुनाव लड्न आउनु भएका चौधरीलाई संसदीय राजनीतिका चुतर खेलाडीका रुपमा मानिने नेता त्रिपाठीसँगको प्रतिस्पर्धा त्यति सहज नभएको जिल्लाको राजनीति वृत्तमा चर्चा हुन थालेको छ । चर्चा जे चलेपनि नेता त्रिपाठी र उद्योगपति चौधरीमध्ये कस्ले बाजी मार्ला त्यो भने मंसिर ४ नै कुर्नु पर्ला ।