
नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । अर्बपति विनोद चौधरी र ५ पटकसम्म यही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री हृदयेश त्रिपाठीबीचको प्रतिस्पर्धाले चुनावलाई रोचक बनाएको हो ।
एमालेको समर्थनमा त्रिपाठीले जनता प्रगतिशिल पार्टीबाट उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसबाट उद्योगपति चौधरीले उम्मेदवारी दिनुभएको छ । अन्तिम समयमा एमालेको सहयोगमा चुनाव लड्नु भएका त्रिपाठी र कांग्रेसका जिल्ला नेताहरुको असन्तुष्टिकाबीच टिकट ल्याउन सफल हुनभएका उद्योगपति चौधरीको चुनावी प्रतिस्पर्धा अहिले जिल्लाका लागि मात्र नभई देशकै लागि पनि रोचक बन्ने देखिएको छ ।
चौधरीको एकाएक नवलपरासी प्रवेशले उक्त क्षेत्रबाट चुनाव लड्ने चर्चामा रहनुभएका संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण कलवार सन्तुलाई धक्का मात्र लागेको छैन् असन्तुष्टि पनि बढेको छ । २०६४ सालमा एमाले र २०७४ सालमा कांग्रेसबाट समानुपातिक सदस्य बन्नुभएका चौधरीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा टिकट ल्याउन सफल बन्नु भएको हो ।
२०४८ सालदेखि अहिलेसम्म भएका ६ वटा चुनावमा त्रिपाठीले एकपटक मात्र हार्नु भएको छ । उद्योगपति चौधरीसँगको प्रतिस्पर्धालाई नेता त्रिपाठीले पाहुना र पर्यटकको रुपमा संज्ञा दिनुभएको छ । चौधरीको उम्मेदवारीलाई त्रिपाठीले पाहुनालाई स्वागत मात्र गर्न सकिने तर सधैं भरी राखिराख्न नसकिने भन्दै प्रतिकृया दिनुभएको छ ।
गत २०७४ को चुनावमा नेता त्रिपाठीले एमालेको चिन्हबाट चुनाव जित्नु भएको थियो । एमालेका शीर्ष नेताहरुमार्फत एमालेको उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गर्न लगाउनुभएका नेता त्रिपाठी अहिले पनि चुनाव बाजी मार्ने रणनीतिमा हुनुहुन्छ ।
विगतमा जिल्लाको कुनै राजनीतिक पृष्ठभूमी नबनाई पार्टी संगठन बलियो भएकै भरमा नवलपरासीमा चुनाव लड्न आउनु भएका चौधरीलाई संसदिय राजनीतिका चतुर खेलाडीका रुपमा मानिने नेता त्रिपाठीसँगको प्रतिस्पर्धा त्यति सहज नभएको जिल्लाको राजनीति वृत्तमा चर्चा हुन थालेको छ ।
चर्चा जे चलेपनि नेता त्रिपाठी र उद्योगपति चौधरीमध्ये कसले बाजी मार्ला त्यो भने मंसिर ४ गते नै कुर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्