
काठमाडौं । वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । नेपाली कला र संस्कृतिको जिवित इतिहासको निधनले नयाँ पुस्तालाई बितेका शताब्दीसँग साक्षात्कारको पुल टुटेको हाे ।
वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद सत्य मोहन जोशीको जन्म विक्रम सम्वत् १९७७ वैशाख ३० गते ललितपुरको बखुम्वहालमा भएको थियो । बाबु शंकरराज जोशी र आमा राजकुमारीको जेठा छोराका रुपमा जन्मनु भएका जोशीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, विकासमा अतुलनिय योगदान पुर्याउनुभएको छ ।
नेपाली कला र संस्कृतिको जर्गेना तथा उत्थानमा योगदान पुर्याए बापत उहाँ थुप्रै पटक सम्मानित हुनुभएको छ ।संस्कृतिविद्को आमचिनारी बनाउनुभएका भएका जोशीले विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्नुभएको थियो । वि.सं. २०१३, २०१७ र २०२८ सालमा गरी उहाँले ३ पटक मदन पुरस्कार पाउनुभएको छ । जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उहाँ पहिलो नेपाली नागरिक हुनुहुन्छ भने सरकारले उहाँको तस्वीर अंकित सिक्का समेत निस्काशन गरेको छ ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुनुहुन्थ्यो । नाटक, काब्य, कथा संग्रह गरि ४ दर्जन बढी कृति प्रकाशित जोशीको जीवनका अनेकन पाटाहरुमा कहिले औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक भएर त कहिले पुरातत्व विभागका निर्देशकसम्म भएर जिम्मेवारी बहन गर्नुभयो ।
उहाँ नेपाल–अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरदेखि राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भएर पनि जनसेवामा सक्रिय हुनुभयो । जहाँ जे भएपनि सत्यमोहन जोशीले इतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोक संस्कृतिको खोज अनुसन्धानको काम जारी नै राख्नुभयो । सिन्जा लोकलाई राष्ट्रियकरणदेखि गाईजात्रा प्रहसनलाई स्थापित गर्नमा जोशीको नेतृत्वदायी भूमिका रह्यो ।
उहाँको निधनले बितेका शताब्दीसँग नयाँ पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ । बहुआयामिक प्रतिभाका धनी, साधारण जीवनशैलीका अध्येता सत्यमोहन जोशीको भौतिक शरीर अब हामीमाझ नरहे पनि उहाँका कृतिले युगौयुगसम्म उहाँलाई अमर राख्ने छ । शताब्दी पुरुष जोशीप्रति भावपूर्ण श्रद्धासुमन । शताब्दी पुरुषको महाप्रस्थान !
प्रतिक्रिया दिनुहोस्