२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जनताले सत्तारुढ गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउनुपर्छ : अध्यक्ष नेपाल


312
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उहाँले बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित ‘सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरुलाई जिताउनुपर्ने तर्क समेत गर्नुभयो ।

उहाँले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरुले आफूहरुको समस्या समाधान गर्न सक्छन भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्रीहरु भएको उल्लेख गर्दै उनीहरुको पक्षमा मतदान गर्नपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले मुलुकको स्वाभिमानलाई उचो राक्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताउनुभयो ।