
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैर सरकारी संस्थाहरुलाई निर्वाचन सम्बन्धी कार्यक्रम दिन बजेटनै नभएको बताउनुभएको छ ।
निर्वाचनमा मतदाता शिक्षाका लागि दर्जनौं गैर सरकारी संस्थाहरुले माग गरिहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रष्टिकरण दिनुभएको हो ।
उहाँले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई सचेत बनाउने र सुचित बनाउने काममा भने सहयोग गर्न सबै गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नु भयो ।
उहाँले आफैंले चिनेका ५० औं गैरसरकारी संस्थाहरुले निर्वाचन कार्यक्रम मागीरहेको दृष्टान्त पेश गर्दै उनीहरुलाई पनि दिन नसकिने कुरा आफूले भनेर फिर्ता पठाएको स्पष्ट पार्नुभयो ।
सूचनाको हकको लागि राष्ट्रिय महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, सामूदायिक वन उपभोक्ता महासंघ, दलित गैरसरकारी संस्था महासंघ, नेपाली उपभोक्ता संरक्षण महासंघका पदाधिकारीहरुसँग आइतबार आयोगको कार्यालयमा भएको सामूहिक भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विनाशीर्षक कुनै पनि बजेट खर्च गर्न नपाउने कानुनी व्यवस्था नै रहेको पन िस्पष्ट पार्नुभयो ।
भेटमा सो गैरसरकारी संस्थाका प्रतिनिधिहरुले भने मतदाता शिक्षाका लागि सही संयन्त्रको प्रयोगमा चुकिरहेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका थिए । मतदाता शिक्षाका लागि ठोस कार्यक्रम बनाउन सही संयन्त्रको प्रयोग गर्न नसकेकोतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष भावना भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्