७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तेक्वान्दोमा प्रहरी ६, सेना ३ र मधेशले एक स्वर्ण पदक जिते


325
Shares

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लबले ६ वटा स्वर्ण पदक जितेको छ ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगितामा आइतबारसम्म १० वटा इमेन्ट्स सकिंदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका हुन् । प्रहरीले दुई, नेपाली सेनाले तीन, सशस्त्र प्रहरीले दुई, लुम्बीनीले दुई र मधेश प्रदेशले एक वटा रजत पदक जितेकाे राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिएका हुन् ।
गण्डकी र प्रदेश-१ ले ६-५, सेना, सशस्त्र, बागमती प्रदेशले दुई-दुई तथा लुम्बिनी र नेपाल पुलिस क्लबले एक-एक वटा कास्य पदक जितेका छन् ।

गिरोगी विधा अन्तर्गत बेनीको कालिपुल कवर्डहलमा आइतबार साँझ भएको खेलमा नेपाल प्रहरीका बिरबहादुर मोहरले ७४ केजीतर्फको पुरुष र सुमित विष्टले महिला ५४ केजीमा स्वर्ण पदक जितेका छन् । ५७ केजी तौल समूह महिलामा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सबिता थापा र पदेश-१ का समिक्षा लिम्बुले कास्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ सशस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कास्य पदक जितेका हुन् ।

५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश-१ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कास्य पदक जितेका छन् । प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाएका हुन् । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश-१ की सुशिला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन् ।
पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश-१ का विवेक राईले रजत पदक जितेका छन् । पुम्से पियरमा प्रहरीका निशा दर्नाल, अस्मिन राउतले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश-१ का विवेक राई र सुविक्षा राईले कास्य पदक जितेका छन् ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर, युकेश थापामगर तथा सशस्त्रका सिर्जना श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कास्य पदक जितेका हुन् । टिम पुम्से महिलामा सेनाका स्वस्तिका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, शसस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश-१ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशिला राईले कास्य पदक हात पारेका हुन् ।

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गिता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बीनीका निमा मल्लले कास्य पदक जितेका छन् । पुरुष ५८ केजी तौल समूहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जितेका छन् । सेनाकी कडायतलाई ओलम्बियन दिपक विष्टले आठौ प्रतियोगितापछि काठमाडौंमा लगेर संरक्षण दिएका थिए । निशा दर्नाल र कमल श्रेष्ठले प्रहरीलाई ४ स्वर्ण दिलाउन योगदान गरेका हुन्।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको २२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैर-आवासीय नेपाली संघ (एनआरएनए) का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताएका छन् । स्वर्ण र कास्य २२-२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।