१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


म्याग्दी-बागलुङ जोड्ने पुलकाे निर्माण कार्य अन्तिम चरणमा


169
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका-४ कुडुले जोड्ने झोलुङ्गे पुलकाे निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

३ सय ८८ मिटर लामो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हाे । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरू गरेको हो । बागलुङ र म्याग्दीको सिमानामा बग्ने ढोडेनी खोलामाथि पुल निर्माण भएपछि १ घण्टाको बाटो ५ मिनेटमा छोटिने भएको छ । ३ करोड लागतमा बन्ने सोही पुल निर्माणको लागि भानी हिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गत वर्षको असोजमा सम्झौता गरेको थियो ।

सम्झौता भएकाे मितिको करिब ४ महिना ढिला गरी पुल निर्माण हुने भएको छ । गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कार्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो । रत्नेचौर र ज्यामरुककोट लगायत आसपासका क्षेत्रका बासीन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका १ रत्नेचौरका निवर्तमान वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभएकाे छ ।

पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्रामको संग्रालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकहरुलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरी क्षेत्रकै सबै भन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयको भनाइ छ । पुलको कुल लागत ३ करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

दैनिक सयौँ सर्वसाधारण गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीय युवा विष्णु कार्की क्षत्रीकाे तर्क छ ।