२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा पुष्पा भुसाल र टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा


5.356k
Shares

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुनेभएको छ ।

२०७४ सालको निर्वाचनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकोतर्फबाट निर्वाचित रायमाझी र कांग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी भुसाल पहिलो पटक संघको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ । गतको स्थानीय तहको निर्वाचनमा गठबन्धन करिब ५ हजार ५ सय मतले अगाडि भएपनि निर्वाचन निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदका लागि अर्घाखाँचीबाट विभिन्न दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिएका छन् । संघ र प्रदेशमा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारबाट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतम र नेकपा एमालेबाट सचिव टोपबहादुर रायमाझी प्रतिस्पर्धामा हुनुहुन्छ । २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ बाट जित्नु भएकी भुसाल यसपाली अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

२०७४ सालको निर्वाचनमा समानुपातिक सांसद बन्नुभएकी भुसालले राजनीतिक पार्टीको भूमिकामा परिवर्तन हुने खालको रूपान्तरण र हरेक समुदायको नेतृत्वमा जोड दिएमा मात्र विकास र सम्वृद्धि ल्याउन सकिने बताउनुभयो । ३ पटकसम्म प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रबाट २०६४, २०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट निर्वाचित हुनुभएको थियो । अहिले नेकपा एमालेमा रहेका रायमाझीले पुराना अधुरा काम पूरा गर्न र विभिन्न विकासका एजेण्डाका साथ उम्मेदवारी दिएको बताउनुभएको छ ।

नेतृत्वको हिसाबले भुसाल उपसभामुख बन्नुभएको छ भने रायमाझी उपप्रधानमन्त्री समेत बन्नुभएको छ । गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन करिब ५ हजार ५ सय मतले अगाडि भएपनि निर्वाचन निकै प्रतिस्पर्धा हुने देखिएको छ ।अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका छन् ।