१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बंगलादेश सरकारले किन लगायाे नोरा फतेहीको कन्सर्टमाथि प्रतिबन्ध ?


208
Shares

एजेन्सी । भारतीय अभिनेत्री नोरा फतेहीको बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेकाे कन्सर्टमा त्यहाँकाे सरकारले रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिती गर्नुपर्ने भन्दै बंगलादेश सरकारले उक्त कन्सर्ट माथि रोक लगाएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार विश्वभर विदेशी मुद्रा सञ्चितीको अवस्था भयावह भएकाले त्यसलाई ख्याल गर्दै बंगलादेशकाे सरकारले नोराको कन्सर्टमाथि प्रतिबन्ध लगाइएको हो ।

बंगलादेशको सांस्कृतिक मामिला मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै नोरालाई ‘विश्वव्यापी परिस्थितिलाई ध्यानमा राख्दै र विदेशी मुद्रा सञ्चिति कायम गर्ने उद्देश्यले’ अनुमति नदिएको जनाएको छ।

नोरालाई वुमन्स लिडरसिप कर्पोरेशनले आयोजना गरेको कार्यक्रममा नाच्न र अवार्ड प्रदान गर्न आमन्त्रित गरिएको थियो । विश्वका धेरै देशहरू जस्तै बंगलादेशको अर्थतन्त्र पनि मन्दीबाट गुज्रिरहेको छ र विदेशी विनिमय सञ्चिति गत वर्षसम्म ४६ अर्ब १३ करोड डलरको तुलनामा ३६ अर्ब ३३ करोड डलरमा झरेको छ । विज्ञहरूका अनुसार यो रकम बंगलादेशको चार महिनाको आयातका लागि पर्याप्त छ ।

मोरक्कन-क्यानडेली मूलकी फतेहीले सन् २०१४ देखि बलिउड फिल्ममा डेब्यु गरेकी थिइन् । चर्चित डान्सर नोरा हाल टिभी रियालिटी शोमा जज रहेकी छन् ।