२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश


104
Shares

काठमाडाैं । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ ।

आज भएको कार्यक्रममा उहाँले राजनीतिमा गठबन्धन स्वभाविक भएपनि मतदान अघिको गठबन्धनले भने मतदातलाई अफ्ठ्याराे पार्ने बताउनु भयो ।

उहाँले दलहरुले उम्मेदवारीमा महिला, दलित, जनजाति, अल्पसंख्यक लगायतको सहभागीलाई कम गराएर सो समुदायप्रति अन्याय गरेको पनि बताउनु भयो ।

उहाँले संसदीय विकासको प्रणालीलाई कसैले पनि खल्बल्याउनु नहुने भन्दै निर्वाचन प्रणालीभित्र पसेर अहिले संसदीय विकासको प्रणाली खल्बल्याउने काम भइरहेको बताउनु भयो ।

उहाँले मतदाताहरुलाई पनि स्वतन्त्र विवेक प्रयोग गर्न पाउने अधिकारमा अंकुश लगाइएको बताउनु भयो । उहाँले संविधानले ३३ प्रतिशत दिएको महिला अधिकारलाई पार्टीले निर्वाचनमा ९ प्रतिशतमा झारेर अन्याय गरेको बताउनु भयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचनको विधि र प्रविधिमा पनि सुधार गर्नुपर्ने बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुले गठबन्धन गर्नाले मतदाताको विवेकमा समेत प्रभाव पारेको बताउनु भयो । उहाँले मतदातालाई बाध्यात्मक स्थिति सिर्जना गरेर मतदान गराउनाले बहुदलीय व्यवस्था बलियो हुन नसक्ने बताउनु भयो ।

उप्रेतीले निर्वाचनमा सुरक्षा व्यवस्था दिनानुदिन कडा गर्दै लानुपर्ने स्थिति आएको बताउनु भयो । उहाँले मतदाताबाट नै निर्वाचन अधिकृत र कर्मचारीहरु छनोट गरी मतदाताहरुले नै निर्वाचन गराउनुपर्ने अवधारणाको उल्लेख गर्नुभयो ।

उप्रेतीले निर्वाचन सम्बन्ध गराउन निर्वाचन आयोग र कर्मचारीहरु सक्षम रहेको बताउनु भयो । आयोगले जारी गरेको आचारसंहीता उपयुक्त भएपनि कार्यान्वयनको पक्ष भने कमजोर रहेको बताउनु भयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन खर्च घटाउने तथा निर्वाचनको कामलाई आधुनिकिकरण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।