१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइयो


0
Shares

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ ।

शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो ।

जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उहाँको व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्र मसमेत गरेको छ ।

महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो । कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताउनुभयो । उहाँले महाकवि देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्ष लगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय काम गर्नुभएको बताउनुभयो । त्यस्तै, त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस र कमर्स क्याम्पसमा प्राध्यापन गराउनुभएको पनि उल्लेख गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार नै महाकवि देवकोटा भएको भनाई छ ।

कवि नेपालले महाकवि देवकोटाले वि.सं. १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गर्नुभएको भन्दै उहाँले २४ वर्ष ९ महिना १४ दिनसम्म औपचारिक रुपमा कविता लेखनको कर्म गर्नुभएको बताउनुभयो । नेपालले देवकोटाको सम्झनामा कविता वाचन पनि गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा कवि मञ्जिला अनिलले पनि महाकवि देवकोटाले आफ्नो जीवनकालमा लेख्नुभएको अन्तिम कविता वाचन गरेर सुनाउनुभयो । उहाँले देवकोटाले मानवतावादी धारमा कविता लेख्ने गरेको उल्लेख गर्नुभयो ।

महाकवि देवकोटाले लेख्नुभएको कविता वाचन गरेर कवि रेजिना आपगार्इंले पनि उहाँप्रति सम्मान व्यक्त गर्नुभयो ।

महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भएपनि प्रज्ञा प्रतिष्ठानले महाकविको जन्म दविसको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो ।