
एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म निर्वाचनमा प्रतिष्पर्धा गर्न अयोग्य घोषणा गरेको छ ।
आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै खानलाई अयोग्य घोषणा गरेको हो ।
प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खानले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताउनुभएको थियो । यस्तो उपहार खानले सरकार प्रमुखको रुपमा विदेशी राष्ट्रहरूबाट प्राप्त गर्नुभएको थियो । खानले आफ्नो वार्षिक सम्पत्ति आयोगमा बुझाउँदा आम्दानीको मुख्य स्रोत नखुलाएको बताइएको छ ।
पाकिस्तानी कानून अनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ । २०२२ अगस्टमा संसद्का सभामुख राज पेरभाइज असरफले निर्वाचन आयोग समक्ष उपहार मामिलामा खानलाई आयोग्य घोषणा गर्न माग गर्नुभएको थियो । आयोगले आज खानलाई अयोग्य घोषणा गर्ने फैसला गरेको हो । फैसलाअघि आयोग परिसर र वरिपरिको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्