
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि भइरहेको शान्ति सुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।
छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुंगेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा जानकारी गराएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्