१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वारा समृद्ध सिन्धुली बनाउने प्रतिवद्धता


585
Shares

काठमाडौं । सिन्धुली जिल्लाका प्रतिनिधि र प्रदेश सभामा सत्ता गठवन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुले आफुहरुको जित भएमा सिन्धुलीलाई हरेक दृष्टिले समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार नेपाली कांग्रेस सिन्धुली काठमाडौंं सम्पर्क समिति,नेकपा माओवादी केन्द्र सिन्धुली– काठमाडौं सम्पर्क समन्वय समिति र नेकपा एककिृत समाजवादी सिन्धुली –काठमाडौ सम्पर्क मञ्चद्वारा संयुक्त रुपमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उम्मेदवारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनका सिन्धुली क्षेत्र नम्बर –१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्याम कुमार घिमिरेले बिगतमा नेकपा एमालेलले झण्डै दुइ तिहाइको सरकारको नेतृत्व गर्दा संविधान र लोकतन्त्रलाई धरापमा पारेको र जनताको पक्षमा कुनै काम नगरेको आरोप लगाउनु भयो । उहाँले एमालेले जनतामा गएर भोट माग्ने नैतिक आधार समेत गुमाइसकेको भन्दै संविधान,लोकतान्त्रिक गणतन्त्रको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नु भयो । घिमिरेले आफू निर्वाचित भएको खण्डमा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्नुका साथै सिन्धुलीलाई हरेक दृष्टिले समृद्ध बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले देशमा भ्रष्टाचार नियन्त्रणका लागि आफू सधै लागिपर्ने पनि बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा सिन्धुली क्षेत्र नम्बर –२ का सत्ता गठबन्धनका उम्मेदवार एवं नेकपा माओवादीका पोलिटव्यूरो सदस्य राजन दाहालले विगतमा नेकपा एमाले देश,जनता, संविधान र लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध गएकाले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता साझेदार दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिएका बताउनु भयो । उहाँले यस अघिको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको स्वेच्छाचारिता र प्रतिगमनको कारणले दश वर्षे माओवादी जनयुद्धको उपलब्धिबाट प्राप्त उपलब्धि धरापमा पर्ने भएपछि त्यसको रक्षाका लागि कांग्रेस,माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका सत्ता साझेदार दलहरु गठबन्धन बनाएर चुनावमा गएको पनि उल्लेख गर्नुभयो । उहाँले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबैसँग आग्रह गर्नुभयो । दाहालले आफू निर्वाचित भएमा सिन्धुलीको मुहार फेर्न अहोरात्र खटिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले ओली वर्तमान व्यबस्था विरोधी भएको आरोप समेत लगाउनु भयो । दाहालले बिगतमा एमाले निर्माण गर्ने माधव कुमार नेपाल,झलनाथ खनाल जस्ता नेताहरु नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेर लोकतन्त्र जोगाउन लागि परेका भन्दै ओली नेतृत्वको एमाले नक्कली एमाले भएको आरोप लगाउनु भयो । प्रमुख अतिथिका रुपमा उपस्थित नेकपा माओवादीका सचिव डिलाराम आचार्यले वर्तमान राजनीतिक उपलब्धिको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन गर्नु परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवारहरु गंगानारायण श्रेष्ठ,मातृका भट्टराई, क्षेत्र बम्जन लगायतले पनि आफूहरु निर्वाचित भएको खण्डमा सिन्त्रुलीको विकासमा आमूल परिवर्तन गर्नुका साथै सधै सिनधुलकिा जनातको सेवामा लागिरहने प्रतिवद्धता जनाएका थिए । त्यसैगरी नेपाली कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिका सभापति विदुर वाइबा,नेकपा माओवादी केन्द्र सिन्धुली– काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष ॠषिराम गर्ताैला,एककिृत समाजवादी सिन्धुली –काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष वासुदेव घिमिरे लगायतले गठवन्धनका उम्मेदवारलाई जिताउन साझा प्रतिवद्धता व्यक्त गरेका थिए ।