
काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज (आइतबार) जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप २ दिन अनुमतिका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो ।
त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो । सञ्चारकर्मीहरुसँग बोल्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताउनु भयो ।
उहाँले आइतबार नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकीललाई बुझाउने तयारी रहेको पनि बताउनुभयो । उहाँले नेपाल प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएको आफूहरुको बुझाइ रहेको बताउनुभयो । उहाँले सन्दीपको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न गलत समाचार प्रकाशन भएको भन्दै सन्दीपको स्वास्थ्यअवस्था राम्रो रहेको बताउनुभयो ।
१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।
सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस्