२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : प्रधानमन्त्री देउवा


312
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको बागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताउनुभएको हो ।

उहाँले कसैले प्रजातन्त्र विरोधी कार्य गर्न पनि नसक्ने बताउनुभयो । उहाँले गठबन्धन कायम रहेमा समावेशिताको खिलापमा पनि कोही जान नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालिन समय भएकाले आपसमा झगडा गर्नु नहुने बताउनुभयो । उहाँले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताउनुभयो । उहाँले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पार्नुभयो । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उहाँले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यो गठबन्धन आवश्यकताले बनेको गठबन्धन हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । अहिलेको आवश्यकताले बनेको हो । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलिपनि रहने छ । देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधान त्यसको रक्षा गरेर हामीले अगाडी बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडी बढ्न सक्छ भन्ने लाग्छ मलाई ।’

चुनावमा कुनै पनि दलको बहुमत नआउने भएकाले आसपमा मिल्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । गठबन्धनका दलहरु बिच आपसमा एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले आग्रह गर्नुभयो ।