
पाल्पा । पाल्पाको प्रसिद्ध ऐतिहासिक भैरवनाथ मन्दिरमा भैरवलाई मानो र पाथीको रोट चढाउने पुरानो परम्परा छ ।
पहिले भक्तजनले घरबाटै रोट बनाएर मन्दिरमा चढाउने गरेकोमा पछिल्लो समय मन्दिर आसपासमा फस्टाएको रोट व्यवसायले भक्तजनलाई सहज भएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको धार्मिक पर्यटकीय गन्तव्य भैरवस्थान मन्दिरमा भक्तजनको आगमन बढेसँगै रोटको व्यापारमा समेत वृद्धि भएको छ ।
पाल्पाका तत्कालीन सेनवंशी राजा मणीमुकुन्द सेनले १६ औँ शताब्दीमा निर्माण गरेको मन्दिरमा एशियाकै ठुलो त्रिशुल समेत रहेको छ । यहाँ बटुक र काल भैरवलाई छुट्टाछुट्टै रोट चढाउने परम्परा छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थीले मानो र आफ्नो भाकल पुरा भएपछि पाथिको रोट चढाउने गर्दछन् ।
चामलको पिठो, चिनी, नरिवल, बदाम, काजुजस्ता वस्तु मिसाएर रोट घ्यूमा पकाउने गरिन्छ । कोभिड महामारीका कारण दुई वर्ष बन्द भएको रोट व्यवसाय पछिल्लो समय फस्टाउँदै गएको रोट व्यवसायी बताउँछन् ।
भैरवबाबासँग भाकल गरेमा मनोकामना पुरा हुने विश्वासले पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ्ग सहित छिमेकी मुलुक भारतबाट पनि भक्तजन आएर रोट चढाउने र बली दिने गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य धनु रायमाझीले बताउनुभयो ।
सुरू सुरूमा पुजा सामाग्रीबाट सुरू भएको मन्दिर नजिकैको व्यवसाय अहिले रोट घरसम्म पुगेको छ । मन्दिर परिसरमा मात्रै ५० भन्दा बढी रोट पकाएर बिक्री गर्ने रोट व्यवसायी रहेका छन् ।
समयचक्र अनुसार व्यवसायमा भएको परिवर्तनले अहिले पश्चिम पाल्पाका महिलाका साथै पुरुषले पनि रोट पकाउने व्यवसाय अगाँलेका छन् ।
प्रतिक्रिया दिनुहोस्