
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभएको हो ।
उहाँले ब्यारोमिटरको पारो तल झर्दा आधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गर्नुभयो । उहाँले देशमा बिकराल समस्या देखा परिरहेको बताउनुभयो । उहाँले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताउनुभयो । उहाँले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनि टिप्पणी गर्नुभयो । उहाँले गठबन्धनका दलहरुको झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भएपनि मत लिने मात्रै भएको बताउनुभयो । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरु गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरुको रहेको उहाँले बताउनुभयो ।
उहाँले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गर्नुभयो । उहाँहरु सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै उहाँहरुलाई कम्युनिष्टको दर्जा दिनु नहुने बिजेक्छेले बताउनुभयो ।
उहाँले कम्युनिष्टको नाममा सरकारमा गएका पार्टीहरुले जनताको पक्षका काम गर्न नसकेका बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्