
एजेन्सी । भारतीय मूलका ४२ वर्षीय ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चुनिएका सुनाकलाई राजा चाल्र्स तृतीयले देशको ५७औं प्रधानमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री सुनाक बेलायतको इतिहासकै पहिलो अश्वेत एवम् हिन्दू प्रधानमन्त्री हुन् ।
त्यसो त उनले पछिल्लो दुई सय वर्षयताकै सबैभन्दा कम उमेरको बेलायती प्रधानमन्त्रीको रेकर्ड पनि बनाएका छन् । सन् २०१५ देखि बेलायतको योर्कशायर क्षेत्रबाट सांसद रहँदै आएका सुनाकले सांसद बनेको ७ वर्षभित्रै बेलायतको प्रधानमन्त्री बनेर अर्को किर्तिमान पनि बनाएका छन् ।
सन् २०२० को फेब्रुअरीमा तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको सरकारमा सुनाक अर्थमन्त्री बनेपछि बेलायती राजनीतिको फ्रन्टलाइनमा आएका थिए । कोरोना महामारीका बेला उहाँकै अगुवाइमा आएका विभिन्न राहत कार्यक्रमले सुनकलाई जनस्तरमा पनि लोकप्रियता दिलाएको थियो । सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका सुनाकका भारतीय मूलका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत आएका आप्रवासी थिए ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय पुगेर सुनाकले देशवासीलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो सम्बोधनमा उनले बेलायतलाई अहिले सामना गरिरहेको चरम आर्थिक संकटबाट मुक्ति दिलाउने संकल्प गरे । नवनियुक्त प्रधानमन्त्री सुनाकले आफ्नो सरकारको प्रमुख एजेन्डा आर्थिक स्थिरता रहने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्