१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा घर-जग्गा कारोबार घट्यो


1.287k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ । गत वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उपत्यकामा घरजग्गा किनबेच उल्लेख्य घटेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्षको साउन, भदौ र असोज महिना गरी उपत्यकामा २८ हजार ५ सय घरजग्गा किनबेच भएको थियो । तर, यो वर्ष उक्त संख्या घटेर १० हजार २७७ मा झरेको छ ।

उपत्यकामा ९ वटा मालपोत कार्यालय छन् । यी कार्यालयबाट चालु आर्थिक वर्षको साउन महिना ३२ सय १६, भदौमा ४३ सय र असोजमा २७ सय ६१ वटा घरजग्गा किनबेच भएको छ । अघिल्लो वर्ष साउन महिनामा उपत्यकाको ९ वटा मालपोत कार्यालयबाट १० हजार १ सय ४४ घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, भदौ ९ हजार २३१ र असोज ९ हजार १२६ घरजग्गा किनबेच भएको तथ्यांक छ । विगतमा मासिक ९ हजार बढी घरजग्गा किनबेच हुँदै आएकोमा हाल ३५ सय हाराहारीमा सीमित भएको छ । सरकारले देशभर भइरहेको जग्गा खण्डीकरणलाई न्यूनिकरण गर्न भू उपयोग नियमावली जारी गरी कित्ताकाटमा उच्च कडाइ गर्दा कारोबार प्रभावित भएको अधिकारीहरु बताउँछन् । पछिल्लो समय शहर केन्द्रित नभएर अन्य कम विकासका स्थानमा मात्रै कित्ताकाट भइरहेको छ ।

त्यससँगै, सरकारले जग्गाको कारोबारलाई कम गर्न विभिन्न नीति अगाडि बढाएकाले पनि यसको प्रभाव देखिन थालेको उनले बताए । सरकारले जग्गा कित्ताकाटमा कडाइ गरेको छ भने अर्कोतर्फ तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा कडाइ गरेको छ । जसले गर्दा घरजग्गा कारोबार दोहोरो चेपुवामा परेको घरजग्गा व्यवसायीहरू बताउँछन् ।

उनीहरूका अनुसार सरकारले तरलता अभावका कारण कर्जा प्रवाहमा उल्लेख्य हुन सकेको छैन । त्यसैले पनि घरजग्गा किनबेचमा मन्दी छाएको छ । राष्ट्र बैंकले तरलता अभावका कारण कम उत्पादन क्षेत्रमा लगानी नगर्नु भन्ने धारणाले पनि घरजग्गा किनबेचमा असर पुगेको व्यवसायीहरूको भनाइ छ ।

यो महिनादेखि कर्जाको ब्याज झनै बढ्ने बैंकहरुले जनाएका छन् । बैंकहरुले मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाए पनि कर्जाको ब्याज भने बढाउने भएका छन् । अहिले भएको ब्याजदर झनै बढे घरजग्गा कारोबार झनै मन्दितर्फ जाने निश्चित छ ।