
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ ।
देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको छ । विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश १ को सुनसरी, मोरङ र झापा तथा भारत र बंगलादेशमा निर्यातका लागि उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइन बनाउने प्राधिकरणले तयारी गरेको छ ।
देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले जनाएको छ । सञ्चालनमा रहेका पूर्वाधारहरूको समेत प्राधिकरणले स्तरोन्नति गर्नेछ ।
पूर्वाधार निर्माणका लागि प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार स्थलगत अवलोकन भ्रमणसमेत गरेको छ । टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत् निर्यातको सबैभन्दा छोटो रुट, प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगलाको सिलिगुढीस्थित ४००/२२० केभी विनागुढी सवस्टेसनको भ्रमण गरी विद्युत् आयात–निर्यातको जानकारी लिएको थियो । सो सवस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्