१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा गुरु र चेलाबीच चुनावी भिडन्त


312
Shares

बझाङ । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशी र नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐनबहादुर महरबीच प्रतिस्पर्धा हुने भएको छ ।

जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको बाम-लोकतान्त्रिक गठबन्धनको साथ रहेको छ भने महरलाई एमालेको साथ छ । केन्द्रमा राप्रपासँग गठबन्धन गरेको एमालेलाई बझाङमा राप्रपाले साथ दिएको छैन । राप्रपाले यहाँ प्रतिनिधि र प्रदेश सभामा आफ्नै उम्मेदवार खडा गरेको छ । जोशी र महर एमाले विभाजन अघिसँगै बसेर काम गरेका व्यक्ति हुन् । गत वर्ष एमाले विभाजन पछि जोशी एकीकृत समाजवादीमा लागे भने महर एमालेमै क्रियाशील छन् ।

जोशी र महर पार्टीमा लागेका हिसावले गुरु चेला जस्तै, हुन् । जोशी एमाले बझाङका संस्थापकसमेत हुन् भने महर जोशी भन्दा धेरै पछि विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा लागेका हुन् । महर एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष बनेपछि अहिले विद्यार्थी राजनीति छोडेर पार्टीको राजनीतिमा लागेका हुन् । जोशी एमालेमा साँढे ४ दशक विताएर पार्टी विभाजन भएपछि समाजवादीतिर लागेका हुन् । जोशी छविसपाथिभेरा गाउँपालिकाका स्थायी बासिन्दा हुन् भने महर जयपृथ्वी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

एमालेमा हुँदा विभिन्न संगठन, पार्टीको जिल्ला नेतृत्व, प्रदेश, केन्द्र हुँदै मन्त्रीको पनि जिम्मेवारी पाइसकेका जोशी फेरि प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन् । अनेरास्ववियुबाट राजनीति सुरुवात गरेका महर अहिले पार्टीको केन्द्रीय सदस्य छन् । उनी पार्टी राजनीतिबाट प्रतिनिधि सभामा पुग्ने कसरतमा छन् । विगतमा एउटै पार्टीमा रहेर काम गरेका गुरु र चेलाबीचको आगामी मंसिर ४ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने अनुमान बझाङका जनताको छ ।

दुवैले जिल्लाको परिवर्तन, विकास, सम्भावना तथा चुनौतिलाई चुनावी मुद्दन बनाएका छन् । दुवै उम्मेदवार प्रतिष्पर्धी भए पनि एक अर्कालाई सम्मान पनि उत्तिकै गर्छन् । आफ्नै कार्यकर्ता अहिले प्रतिस्पर्धी हुनु लोकतन्त्रको सफल पक्ष भएको जोशी बताउँछन् । उनी भन्छन् – ‘प्रतिस्पर्धाको राजनीतिमा फरक दल भएपछि निर्वाचनमा भिड्नु स्वभाविक पनि हो ।’

यता महर पनि फरक दलमा गइसकेपछि आफ्नै नेतासँग प्रतिस्पर्धा हुनु स्वभाविक ठान्छन् । उनी भन्छन् – ‘कुनै बेलाका आफ्नै नेतासँग प्रतिस्पर्धी हुनुपर्ने रहे छ । फरक पार्टीमा गइसकेपछि स्वभाविक हो ।’ जोशी राजनीतिमा महर भन्दा निकै पाका व्यक्ति हुन् ।

वि. सं २०३५ सालमा शान्ति मावि चौघानपाटामा अध्ययन गर्दै गर्दा राजनीतिक चेतना बटुलेका जोशीले वि.स. २०३६ सालमा नेपालगञ्जको शिक्षा क्याम्पसमा अनेरास्ववियुबाट राजनीति प्रारम्भ गरेका हुन् । तत्कालिन राजा महेन्द्रको शासनकालदेखि आजसम्म मुलुकमा भएका हरेक परिवर्तनका साक्षी बनेका जोशी परिवर्तनको आन्दोलनमा दर्जनौँ पटक गिरफ्तारीमा परेका थिए । जोशीले एमालेमा रहँदा २०५१/२०६४ मा गरी दुई पटक चुनाव जितेका थिए । उनी २०६८ मा वन तथा भू-संरक्षणमन्त्री बनेका थिए ।

अहिले जोशी आउँदो मंसिरको ४ गतेका लागि उम्मेदवार भएका छन् । आफूले बझाङलाई सडक संजालमा जोडेर सडक बिस्तार लगायत विगतमा विभन्न विकासका काम गरेको र अझै विकासमा वझाङलाई समुन्नत बनाउने योजना रहेको जोशीको भनाई छ । शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधार विकासलाई जोशीले जोड दिएका छन् ।

वि.स. २०५५ सालदेखि औपचारिक रुपमा राजनीतिमा होमिएका महर सुनी पिपलचौर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि राजधानी छिरेका हुन् । उनले राजधानी पसेर उच्च शिक्षा अध्ययनसँगै राजनीतिलाई अघि बढाएका हुन् ।

बाल्यकालदेखि नै कम्युनिष्ट विचारधाराबाट प्रभावित महरका बुबा भने नेपाली कांगे्रसका क्रियाशिल सदस्य हुन् । वि.स. २०५० सालमा भएको मदन-जीवराज हत्या घटना पछि सुरु भएको आन्दोलनबाट उनी पूर्ण रुपमा राजनीतिमा होमिएका थिए । दासढुंगा घटनापछि मदन भण्डारीको जीवनी, उनले गरेको योगदान, भाषण, कम्युनिष्ट विचारधारा लगातार प्रचारसँगै भएको आन्दोलनपछि महर नेकपा एमालेको राजनीतिमा सक्रिय भएका थिए । यसै क्रममा उनी वि.स.२०७६ मा एमालेको भातृ संगठन अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बने । विद्यार्थी संगठनपछि उनी अहिले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा छन् ।

संगठनमा विद्यार्थी तथा पार्टी नेतृत्वको मन जित्ने र विश्वासिलो पात्र बनेपछि आफूलाई नेतृत्व प्रदान गरेको उनी बताउँछन् । ‘अहिले प्रतिनिधि सभा सदस्यका लागि पार्टीले टिकट दिइसकेपछि उत्साहित हुनुका साथै जिम्मेवार र गम्भीर बनाएको छ,’ उनले भने, ‘बझाङमा विकासको क्रम थोरै छ, अब धेरै गर्नुछ । विकासको गतिमा डोर्‍याउनु छ, गरिबीबाट माथि उठाउनुछ, मानिसको जनचेतना विकास गर्नुपर्ने छ । यसमा म दृढ छु । मैले बुझेको छु र मैले आफ्नै घरको विकास गर्नुपर्ने सम्झेको छु ।’

प्रदेश सभा-‘क’ मा पृथ्वीबहादुर सिंह र अफिलाल ओखेडाबीच प्रतिष्पर्धा

प्रतिनिधि सभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर क बाट नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंह र नेकपा एमालेका नेता अफिलाल ओखेडाबीच प्रतिस्पर्धा हुने भएको छ । लामो समय जिल्लामा राजनीति गर्दै आएका दुवै जनाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

सिंहलाई बाम-लोकतान्त्रिक गठबन्धन (नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र)को साथ छ भने ओखेडालाई एमालेको मात्रै साथ छ । सिंह र ओखेडा बझाङको राजनीतिमा नयाँ अनुहार नभए पनि प्रत्यक्षमा जितेर सार्वजनिक पद धारण भने गरेका छैनन् । ओखेडा समानुपातिक सूचीबाट संविधानसभा सदस्य भएका थिए भने सिंह वि.स.२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी र नेकपा एमाले एक भएर चुनाव लड्दा एमालेका भैरवबहादुर सिंहसँग केहि मतले पराजित भएका थिए । सिंहले विभिन्न चरण पार गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिको पदमा रहेर काम गरिसकेका छन् । आफूलाई गठबन्धन मात्रै नभएर आफूले जिल्लामा गरेको योगदानका कारण एमालेका कार्यकर्ताको भोट समेत आउने सिंहको दाबी छ । सिंह जिल्लामै रहेर राजनीतिमा सक्रिय छन् । उनी वि.स.२०३२ सालदेखि कांग्रेस राजनीतिमा लागेका व्यक्ति हुन् । आफू सबैको सहयोगमा जित्नेमा ढुक्क रहेको उनले बताए ।

यस्तै, वि.स. २०५४ सालबाट एमालेको राजनीति सुरु गरेका ओखेडाको राजनीतिक यात्रा करिब साढे दुई दशक भइसकेको छ । पार्टीको वडा सचिवबाट राजनीति सुरु गरेका ओखेडा २०५४ सालमै हेमन्तवाडा गाउँ कमिटीको अध्यक्ष भएका थिए । ओखेडाले पुस्तान्तरणको अभ्यास र दलित समुदायको मान्छे भएको हिसाबले जिल्लामा पहिलो पटक टिकट प्राप्त हुँदा जिल्लालाई नै न्याय हुनेमा विश्वस्त भएको बताए ।

प्रदेश सभा-‘ख’ मा एमालेका रावल, सत्ता गठबन्धनका भण्डारी र राप्रपाका मल्ल मैदानमा

बझाङको प्रदेशसभा अन्तर्गत क्षेत्र नम्बर ख मा एमालेका पुराना नेता एलबी रावल, सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बीरेन्द्र मल्ल चुनावी मैदानमा रहेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारी पहिलो पटक चुनाव लड्दै छन् भने उनी पाका नेता रावललाई हराउने दाउमा छन् । रावल पनि यस अघि वि.स. २०७० मा संविधान सभाको सदस्य रहेका बेला त्यति बेला सुरु गरेका कामहरु पूरा गर्नका लागि भए पनि आफूले जित्नु पर्ने दाबी गर्छन् ।

चुनाव लड्न पहिलो पटक आए पनि मुलुककै राजनीति नजिक बाट नियालेका भण्डारी गठबन्धनबाट बलियो उम्मेदवारको रूपमा चिनिन्छन् । ‘सबै दलको पूर्ण समर्थन मेरै पक्षमा छ । मैले सके जतिको यस क्षेत्रमा काम गरेको हुँदा जनताले मलाई समर्थन गरेका छन् । समाजको विकासका लागि मेरो योगदानलाई जनताले कदर गर्नेमा विश्वस्त छु ।’ गठबन्धनका उम्मेदवार भण्डारीले भने । भण्डारीले पार्टीमा बैद्धिक नेताको रुपमा पनि चिनिन्छन् ।

साढे ४ दशकअघि राजनीति सुरू गरेका रावल वि.स. २०७० सालको संविधान सभाको निर्वाचनमा बझाङ क्षेत्र नम्बर-२ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले भने बझाङमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । जनताको सेवा गर्न आफूले राजनीति गरेको रावलको भनाई छ ।

उता राप्रपाका तर्फबाट उम्मेदवार बनेका मल्ल पनि जिल्लामा नाम चलेका नेता हुन् । अहिले सम्मका नेताहरुले भाषण मात्रै गरेको बताउँदै जिल्लाको विकासका लागी आफूले ठूलो योगदान गरेका कारण जिल्लाबासीले आफूलाई विश्वास गरेर मत दिने मल्लको दाबी छ ।