
काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा ओपनर आशिफ शेखले अविजित ४२ रन जोडे । अर्का ओपनर प्रदिप ऐरी २५ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मैदान ओसिलो भएपछि ढिला खेल सुरु हुँदा खेल ४३ ओभरमा झारिएको थियो । सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । जितसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एपीएफले आर्मीलाई हराएको थियो । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशसँग पराजित भएको थियो । अंकविहीन सुदूरपश्चिम पुछारमा रहेको छ । यसैबीच आजै भएको अर्को खेलमा प्रदेश–१ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै पहिलो जित निकालेको छ ।
प्रदेश–१ ले दिएको ३ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ३५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्