
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नु पर्ने बताउनुभएको छ ।
बुुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गर्नुभयो ।
उहाँले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनुनहुने बताउनुभयो । उहाँले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद र निर्वाचनको अर्थ के हो भन्दै प्रश्न समेत गर्नुभयो । अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताउनुभयो ।
अध्यक्ष ओलीले विकासको मुल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमलेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलछिना सरकारको संज्ञा दिनुभयो । उहाँले देश बिगार्न नदिनको लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउनु नहुने बताउनुभयो ।
उहाँले यतिबेला देशबिरोधी तत्वहरु सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले अफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र काठमाडौंमा पुनः निर्माण गरिएको धरहराले आफ्ना बिरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गर्नुभयो ।
उहाँले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको पनि दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्