
म्याग्दी । गत असारमा गएको पहिरोले सडक बगाएपछि अवरुद्ध भएको पश्चिम म्याग्दीको दरबाङ–फूलबारी–खानीबोट–बेली हुँदै रुम जोड्ने सडक ५ महिना बित्दा समेत संचालनमा आउन सकेको छैन् ।
म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोटमा गत असार ९ गते सडकको माथिबाट खसेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । गत असार महिनादेखि अवरुद्ध भएको सडकका कारण स्थानीयले जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता भएकाे छ । साथै रुमको बेली लगायतका बस्तीमा जाने स्थानीयलाई समेत सास्ती भएको छ ।
पहिरोले खानीबोट–बेली सडक खण्डको करिब १ सय ५० मिटर सडक बगाएपछि उक्त ठाउँमा अहिले विशाल भीर बनेको छ । भीरालो जमिन र अत्यन्त जोखिमयुक्त ठाउँ भएकोले स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ । रुमको बेली लगायतका बस्तीमा जाने स्थानीयलाई समेत सास्ती भएको स्थानीयवासी ५९ वर्षीया असारी नगरकोटीले बताउनुभयाे ।
उहाँले भन्नुभयाे- ‘गाई बस्तुलाई घाँसपात गर्न दैनिकरुपमा ओहोरदोहोर गर्नुपर्छ, कतिबेला खुट्टा चिप्लिएर मरिने हो भन्ने डर लाग्छ । पाँच महिना वित्यो, हामीले यस्तै जोखिम मोलेर पहिरो वार पार गरिरहेका छौं । पानी परेको बेला कतिबेला चिप्लिएर मरिने हो भन्ने डर हुन्छ ।’
खानीबोटका स्थानीयले श्रमदान गरेर पाइला अड्याउने ठाउँ बनाएका र सोही ठाउँमा पाइला राख्दै खानीबोटको विशाल भीर ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको सोही बाटो भएर बेली–दरबाङ आवजावत गर्ने मालिका गाउँपालिका वडा नं २ बेलिका श्याम पुन मगरले बताउनुभयाे । मलिका गाउँपालिका-३ का वड अध्यक्ष मोतीप्रसाद बुढाले पहिरोका कारण सडकमा ठूलो क्षति पुगेकोले वडा र पालिकाको पहलमा मात्रै सडक संचालन गर्न सम्भव नभएकोले ढिलाइ भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे- ‘पहिलेकै स्थानबाट सडक संचालन गर्न सम्भव छैन । वैकल्पिक ठाउँको खोजी भइरहेको छ । पहिरोको माथिपट्टी व्यक्तिगत जग्गा पर्छ । जग्गावालासँग बाटोका लागि कुरा मिल्न सकिरहेको छैन् । बजेटको पनि अभाव छ । त्यसैले याे सडक तत्काल सञ्चालनमा ल्याउन हामीले चाहेर पनि सकिरहेका छैनौं ।’
अवरुद्ध सडक संचालनमा नआउँदा मालिका गाउँपालिका वडा नं २ र ३ का २ हजार भन्दा बढी जनता असुविधामा परेका मालिका-२ बेलीका टकबहादुर बिकले बताउनुभयाे । यातायातका साधनहरुमार्फत एक घण्टामा नै बेलिबाट दरबाङ आउन सकिन्थ्यो ।
तर पहिरोका कारण यातायातका साधनहरु संचालन नहुँदा एक दिन नै खर्चिनु पर्ने समस्या रहेको स्थानीयवासीले गुनासो गरेका छन् । सडक अवरुद्ध हुँदा नियमित आवतजावत गर्न, खाद्यान्न र निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानीमा समेत ठूलो समस्या उत्पन्न भएको शिक्षक टेकबहादुर घर्तीले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्