१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फेरिँदै मुस्ताङको मुहार


4.953k
Shares

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ आन्तरिक पर्यटकहरुको समेत प्रमुख गन्तव्य बन्दै गएको छ ।

यहाँ सबैभन्दा बढी सार्क मुलुक र तेस्रो मुलुकबाट पर्यटकहरु आउने गरेपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत भीड लाग्ने गरेको छ ।

खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका संचालक योगेश शेरचनले बताउनुभयो ।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङ लगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गरेको छ । पर्यटकको उल्लेख्य उपस्थितिका कारण स्थानीय अर्थतन्त्रमा पनि फाइदा पुगेको शेरचनको भनाइ छ ।

विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइकलिङ गर्न रुचाउने भएकाले यहाँ आएर साइकलिङमा रमाउने गर्दछन् ।

हरेक वैशाख र साउनमा जिल्लामा चौंरीको आलो रगत खाने पर्व पनि लाग्छ । यसले नजिकको जिल्लाका मानिसहरुका भीड लाग्दछ ।

पोखरा वाग्लुङ राजमार्गलाई मालढुंगामा छोडेर बेनी, तातोपानी, रुप्से, हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ ।

पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब १ घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ ।

धौलागिरी र नीलगिरी हिमालपार गरेर आउनुपर्ने भएकोले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको छ ।