१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्पतालका एम्बुलेन्सलाई भ्याई नभ्याई, पालिकाका एम्बुलेन्स प्रयोग विहीन


455
Shares

बझाङ । केदार स्युँ गाउँपालिका वडा नम्बर ५ की प्रमिला जाग्री गुर्धामीले जिल्ला अस्पतालमा बच्चा जन्माएको शुक्रबार ५ दिन पुगेकाे छ ।

१३ गते बेलुका बच्चा पाएकी उनले २ दिनपछि जिल्ला अस्पतालबाट बच्चालाई धनगढी सेती अस्पतालमा लैजान सुझाव दिँदै डाक्टरले रिफर गरे । रेफर भएको चार दिन वितिसक्दा समेत उनले एम्बुलेन्स पाएकी छैनन् । उनका श्रीमान कृष्ण बहादुर गुर्धामी एम्बुलेन्सको खोजीमा छन् । जिल्ला अस्पतालमा भएका २ वटा एम्बुलेन्स विरामी लिएर धनगढी गएका छन् । दुवै एम्बुलेन्स बाटोमा बझाङ तिर फर्की रहेको एम्बुलेन्स चालकले बताएका ।

लामो सुत्केरी बेथा लागेकी गुर्धामीको पेटमा भएको बच्चाले दिशा खाएको र बच्चालाई एन. आई.सी.यु.मा अक्सिजन दिएर उपचार भै रहेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर नवराज जोशीले बताउनुभयाे । थप उपचारका लागि रिफर गरेको भए पनि एम्बुलेन्स नभएका कारण बच्चालाई जिल्ला अस्पतालमा नै राखेर उपचार गरी रहेको उहाँले जानकारी दिनुभयाे । अक्सिजनसहित बच्चालाई अर्को अस्पतालसम्म लैजानु पर्ने भनेर उहाँले सल्लाह दिनुभएको छ ।

प्रमिलाका श्रीमान कृष्ण बहादुर गुर्धामीले भन्नुभयाे, ‘निजी जीप वा बसमा लैजाउ भने अक्सिजन हुँदैन बच्चालाई गाह्रो हुन्छ । सबै पालिकामा रहेका एम्बुलेन्स चालक देखि त्यहाँका जनप्रतिनिधीहरुलाई खबर गरी सके कतैका एम्बुलेन्स बिग्रिएका छन्,भन्ने खबर आउँछ, कतै चालक नभएको खबर आउँछ । जिल्ला अस्पतालमा भएका दुवै एम्बुलेन्स धनगढी गएका छन् । बच्चालाई रिफर गरेको ३ दिन वित्न लागि सक्यो एम्बुलेन्स पाएको छैन । आफुले चिने जानेका सबै जनालाई एम्बुलेन्स खोजी दिन आग्रह समेत गरी सकेको गरिसकिएकाे छ। ’

यो त एउटा प्रतिनिधी मुलक घटना मात्र हो, एम्बुलेन्स नपाएर यहाँका अधिकांश नागरिकहरुले महंगो शुल्क तिरेर सार्वजनिक तथा निजी सवारीका साधनहरु बुक गरेर हिड्नु पर्ने अवस्था बझाङमा छ । जिल्ला भरी ९ वटा एम्बुलेन्स रहेका छन् । जिल्लाका २ वटा एम्बुलेन्स बाहेक अन्य एम्बुलेन्सहरु प्रयोग विहिन अवस्थामा रहेका छन् । केदार स्युँ गाउँपालिकाको एम्बुलेन्स वर्ष दिन पुग्न थाल्यो । विग्रिएर थन्किएको अवस्था छ ।

छविसपाथिभेरा गाउँपालिकामा पनि एक वटा एम्बुलेन्स छ । महिनौ दिनदेखि त्यो पनि प्रयोग विहीन अवस्थामा छ । यस्तै मष्टा गाउँपालिकामा रहेको एम्बुलेन्स चालक विहीन अवस्थामा छ । जो जिल्ला प्रशासन कार्यालयको परिसरमा थन्किएको अवस्थामा छ ।

तल्कोट गाँउपालिका, दुर्गाथली गाँउपालिका, बुंगल नगरपालिकामा समेत एम्बुलेन्स छन् तर प्रयोग विहीन अवस्थामा रहेका छन् । कतै एम्बुलेन्समा चालक छैनन् भने केही एम्बुलेन्स विग्रिएर थन्किएको अवस्थामा रहेका छन् भने केही चालक सम्पर्क विहीन छन् । तर यहाँका जनप्रतिनिधिहरुले चढ्नका लागि खरिद गरेका सबै सवारीका साधनहरु भने सञ्चालनमा रहेका छन् र चालक पनि सम्पर्कमा नै रहेको पाइन्छ ।

जिल्ला अस्पतालमा भएका २ वटा एम्बुलेन्सले तीन महिनाको अवधिमा कोही काठमाडाैं, कोही नेपालगंज त कोही धनगढी, डडेल्धुरा गरेर ४२ पटक ओहोर दोहोर गरेको जिल्ला अस्पतालका कार्यालय प्रमुख नवराज जोशीले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘जिल्ला अस्पतालका एम्बुलेन्सहरु २४ घण्टा सञ्चालनमा रहेका छन् तर पालिकाले खरिद गरेका एम्बुलेन्सहरु न सञ्चालनमा आएको थाहा पाएको छु । नत हामीले खोज्दा एम्बुलेन्स चालक सम्पर्कमा आएका छन् । हामीसँग भएका २ वटा एम्बुलेन्स र १ वटा शव वाहन सञ्चालनमा रहेको छ ।’

जिल्ला अस्पतालमा कार्यरत डाक्टर मिलन खड्काले पालिकाले खरिद गरेका एम्बुलेन्सको कुनै अर्थ नरहेको बताए । उहाँ भन्नुभयाे, ‘चाहेको समयमा एम्बुलेन्स सञ्चालनमा आएनन् भने के अर्थ रहन्छ ? जनप्रतिनिधी चढ्ने गाडीहरु २४ घण्टा सञ्चालनमा रहेका छन् । तर एम्बुलेन्सको हालत यस्तो छ । जिल्ला अस्पतालमा रहेका एम्बुलेन्स बाहिर भएको समयमा विरामीहरु जिल्ला अस्पतालबाट रेफर गर्दा पालिकामा रहेका एम्बुलेन्सको खोजी गर्दा कहिले पनि नपाउने कहीले चालक नहुने, कहिले एम्बुलेन्स विग्रिएको छ भन्ने खबर मात्रै पाएको र धेरै जस्तो विरामीहरु महंगो शुल्क तिरेर सार्वजनिक सवारीका साधन प्रयोग गरेर बाहिर जाने गरेका छन्।’

यस्तै जिल्ला अस्पतालका एम्बुलेन्स चालककेदार मण्डेलले आफूहरुले राति पनि नसुतेर एम्बुलेन्सहरु चलाउनु परेको गुनासो गरे । उहाँले भन्नुभयाे ‘ हामीहरुलाई विरामी बाहिर लिन र भित्र ल्याउन भ्याई नभ्याई छ । पालिकाले खरिद गरेका एम्बुलेन्स र चालकहरुलाई पनि आनन्द छ ।’

उहाँ थप्दै भन्नुभयाे,’केही जनप्रतिनिधीहरुले त आफ्ना कार्यकर्ताहरुलाई जागिर खुवाउनका लागी मात्रै पालिकाको रकमले एम्बुलेन्स खरिद गरेको जस्तो लाग्छ । साथै उहाँले न सुतेर एम्बुलेन्स सञ्चालन गर्दा कहिले काहिँ दुर्घटना हुन्छकी भन्ने चिन्ताले पनि सताउने गरेको बताए।

यता यस विषयमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सबै पालिकाहलाई प्रशासनले आफ्नो पालिकामा रहेका एम्बुलेन्सहरु चुस्तदुरुस्त राख्न र विग्रिएका भए पनि सुधारेर तयारी अवस्थामा राख्न पटक पटक आग्रह गर्दै आएको बताउनुभयाे ।