
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
१६ जना घोडा धावक सहभागी प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडा दौड प्रतियोगितामा पनि प्रथम भएको थियो ।
अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिनुभयाे।
२५ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो भएका हुन् ।
घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा बिजयी भएका प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उद्घाटन गरेका थिए ।
‘घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ’, उहाँले भन्नुभयाे‘सौखिन पर्यटकहरु घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिड्न नसक्ने पर्यटकहरु घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ ।’
प्रतियोगितामा विजयीहरुलाई घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुन, युवा क्लवका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । घोडेपानी युवा क्लव, आमा समुह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
पर्यटन प्रर्वद्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडेपानी घोडा व्यवसायी समितिका अध्यक्ष याम पुनले बताउनुभयाे । घोडादौड अवलोकनका लागि स्थानीयवासीका साथै पर्यटकहरुको पनि उपस्थिति थियो । अन्नपूर्ण गाउँपालिका–५ का पुर्व वडा सदस्य धनबहादुर पाईजाले पाउद्धारमा पनि घोडादौड प्रतियोगिता आयोजना गर्ने तयारी भएको जानकारी गराउनुभयाे ।
पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जंगलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ ।
घोडेपानी र घोडाको ऐतिहाँसिक सम्बन्ध छ । परापुर्व कालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तिर्थयात्रा गर्ने र चिनीयाहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्रि सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाईमा रहेको घोडेपानीमा बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको किम्बदन्ती छ ।
प्रतिक्रिया दिनुहोस्