
काठमाडौं । यस वर्षको दशैं झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ ।
आकाश नीला देखिएका छन् । टाढाका हिमाल आँखै अगाडि आएका छन् । काठमाडौं उपत्यकाबाटै दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ । अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन् ।
शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ ।
प्रदुषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदुषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदुषण बढेसँगै बिस्तारै विलिन हुँदै जान्छन् ।
केही दिन यता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको पनि छ । भारतमा पराल पोलेको प्रदुषण काठमाडौंको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन । तर पनि धुवाँकै बीचमा काठमाडौंको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ ।
काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ काँठ क्षेत्रलाई । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ । उदाउँदो घामसँगै किसानहरु खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झनै मन शान्त बनाउँछ ।















प्रतिक्रिया दिनुहोस्