१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावी प्रचारप्रसार लागि शीर्ष नेताहरु देश दौडाहामा


351
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिंदै गर्दा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।

गत बिहिबारदेखि निर्वाचन प्रचारप्रसार खुल्ला भएपनि राजनीतिक दलका शीर्ष नेताहरु चुनावी देश दौडाहामा निस्किएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी देश दौडाहामा अग्र स्थानमा देखिएका छन् ।

गत बिहिबार गृहजिल्ला समेत रहेको चुनावी क्षेत्रबाट चुनावी अभियानको सुरुवात गर्नुभएका प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगातार ४ दिन आफ्नै चुनावी क्षेत्रमा व्यस्त रहनुभयो । गृहजिल्ला बसाईको अन्तिम दिन आइतबार प्रधानमन्त्री देउवाले दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुभयो । बिहान ११ बजे डडेल्धुराको आलिताल गाउँपालिका गोदाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएका देउवाले दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नुभयो । बुधबार काठमाडौंबाट कैलालीको धनगढी हुँदै बिहिबार डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री देउवाले अन्य जिल्लाका चुनावी क्षेत्रमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

दार्चुलाको खलंगाबाट शुक्रबार आसन्न निर्वाचन केन्द्रित चुनावी अभियानको सुरुवात गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही दिन बैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्नुभयो । शनिबार काठमाडौंमा आयोजित प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गर्नुभएका ओली आइतबार चुनावी प्रचारकै क्रममा बाग्लुङ, स्याङ्जा र पोखरामा आयोजना गरिएका पार्टीका चुनावी सभालाई सम्बोधन गर्नुभयो । आसन्न निर्वाचन केन्द्रित ४० स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको ओलीले आवश्यकता अनुसार अन्य चुनावी सभालाई पनि सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रचारप्रसारमा उत्तिकै व्यस्त देखिनुभएको छ । गत बिहिबार आफ्नै निर्वाचन क्षेत्र गोरखाका सत्तागठबन्धनका उम्मेदवारहरुसँग काठमाडौंमै अन्तरक्रिया गर्नुभएका दाहाल शनिबारदेखि चुनावी क्षेत्रमै केन्द्रित हुनुभएको छ । चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष दाहाल मंगलबार जुम्ला जाने कार्यक्रम तय गरिएको छ ।

चुनाव प्रचारप्रसार खुल्ला भएकै दिन काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गोरखा र नवलपरासीमा आयोजना गरिएको पार्टीको चुनावीसभालाई सम्बोधन गर्नुभयो । आइतबार पनि अध्यक्ष लिङ्देन चुनावी प्रचारमै व्यस्त रहनुभयो । राजनीतिक दलका अन्य शीर्षस्थ नेताहरु माधवकमुार नेपाल, रामचन्द्र पौडेल, उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेताहरु भने आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित रहनुभएको छ ।

विभिन्न निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई आवश्यकता अनुसार सम्बोधन गर्ने नेताहरुको तयारी रहेकाे छ ।