७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्याग्दी र बाग्लुङ जोड्ने पुलकाे निर्माणकाे काम अन्तिम चरणमा


286
Shares

म्याग्दी । म्याग्दी र बाग्लुङ जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बाग्लुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो । १ सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि २०७८ साल असोजमा थानी–हिमशिखर जेभीले ३ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

साेही पुलको फाउण्डेशन, जिप, लठ्ठा तान्ने र स्टिल डेग राख्ने काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि केदार रिजालले जानकारी दिनुभयो । दायाँ र बायाँतर्फ जाली हालेर लठ्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम भने बाँकी रहेको उहाँले बताउनुभयाे ।

कार्तिक महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माणको काम भइरहेको उहाँले बताउनुभयाे।