२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा हरिकृष्ण र खम्वीरबीच मुख्य प्रतिस्पर्धा


195
Shares

म्याग्दी । म्याग्दी जिल्ला राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित हो ।

पञ्चायत कालका सदबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कुटनीतिलाई सँगसँगै अघि बढाएका थिए । गौचनको त्यही पदचापलाई पछ्याउँदै म्याग्दीको राजनीति अघि बढिरहेको छ । म्याग्दीमा चुनावीका अनौठा कूटनीतिक खेलहरु हुने गर्दछन् । छक्का-पञ्जामा आधारित त्यस्ता खेलहरुले निर्वाचनको परिणामलाई नै प्रभावित पार्ने गरेको पञ्चायतकाल देखिकै इतिहास म्याग्दीमा छ ।

यसपटक पनि म्याग्दीको निर्वाचन निकै पेचिलो हुने संकेत देखिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदार हरिकृष्ण श्रेष्ठ र एमालेका प्रदेश १ र २ का उम्मेदवारलाई लिखित स्पष्टीकरण माग गरिसकेको छ ।

एउटै मात्र चुनावी क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट श्रेष्ठ र गठबन्धनको तर्फबाट खमबहादुर गर्बुजा (खम्वीर) चुनावी मैदानमा रहेका छन् । २०७० र २०७४ को निर्वाचनमा एमालेले विजय प्राप्त गरेको म्याग्दीमा एमालेका उम्मेदवार श्रेष्ठलाई त्यो बिरासत कायम गर्ने ठूलो चुनौती छ भने गठबन्धनका उम्मेदवार गर्बुजालाई एमालेको गढ ध्वस्त गरेर नयाँ इतिहाँस कायम गर्ने चुनौती छ । गर्बुजा यस अघिका दुई वटा निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर पराजित हुनुभएकाे थियाे । २०७४ मा माओवादीको साथ पाएको एमाले विजयी भएको थियो । यसपटक माओवादीको साथ कांग्रेसलाई छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ४ मंसिरको सरगर्मी बढिसकेको छ । यहाँ मुख्य रूपमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र सत्तागठबन्धनका उम्मेदवार रहेका कांग्रेसका खमबहादुर गर्बुजाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।प्रतिनिधि सभामा स्वतन्त्रसहित ९ , प्रदेश सभा क्षेत्र (क) मा ५ र (ख) मा ६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । विगतको स्थानीय तहको चुनावको मतपरिणाम विश्लेषण गर्दा सत्तागठबन्धनमा आवद्ध दलको मत बढी देखिएको छ। तर, यहाँ एमाले पनि निकै बलियो शक्तिका रूपमा रहेको छ ।

जिल्लामा गठबन्धनबाट प्रतिनिधि सभामा कांग्रेसका खमबहादुर गर्बुजा र प्रदेश सभातर्फ निर्वाचन क्षेत्र (क) मा हरिबहादुर भण्डारी र (ख) मा रेसम जुग्जाली उम्मेदवार बनेका छन् । एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ र प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र (ख)मा यामबहादुर गर्बुजा मैदानमा रहेका छन् ।

संसदीय निर्वाचनको इतिहास पल्टाउँदा म्याग्दीमा कांग्रेस, एमाले र माओवादीले सफलता पाएको रेकर्ड रहेकाे छ । २०५६ मा कांग्रेस, २०६४ मा माओवादी तथा २०७० र २०७४ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए । २०७४ मा एमाले र माओवादीले गठबन्धन गरेका थिए। प्रतिनिधि सभा र प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार विजयी भएका थिए भने प्रदेश सभा (क) मा माओवादीका उम्मेदवार विजयी भएका थिए । यसपटक कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन छ भने एमाले एक्लै चुनावी मैदानमा छ । एमाले लगातार तेस्रो जितको खोजीमा छ । सत्तागठबन्धन भने उसलाई रोक्दै एमालेको गढ भत्काउन चाहन्छ ।

यस पटक पनि हरिकृष्ण श्रेष्ठमार्फत नेकपा एमालेले नै ह्याट्रिक गरेर एमालेले आफ्नो २२ वर्षदेखिको बिरासत कायम राख्छ वा नेकपा माओवादीसहितको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खमवीर गर्बुजाले बाजी मारेर नयाँ रेकर्ड कायम गर्छन । त्यसका लागि भने मंसिर ४ गतेलाई पर्खनै पर्ने हुन्छ ।