१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा गाई-गोरूको अवैध तस्करी सुरू


442
Shares

सिन्धुुली । सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर पहाडी जिल्लाहरूबाट लाखौंको संख्यामा गाईगोरूको अवैध तस्करी सुरू भएको छ ।

सिन्धुली जिल्ला तराई मधेश र पहाडी जिल्लाहरू गरी कुल ९ वटा जिल्लाहरूसँग सीमाना जोडिएकाले विभिन्न अवाञ्छित गतिविधिहरू संचालन गर्नेहरुलाई सजिलो भएकाे छ । जसका कारण गाई र गोरूको लुकिछिपि चोरी निकासी तस्करी गरी भारतीय सीमानासम्म पुर्‍याउन सजिलो भएको छ ।

गाई र गोरूको अवैध रूपमा तस्करी गर्नेहरूले सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंंगा, खोटाङ र काभ्रेपलाञ्चाेक लगायतका जिल्लाहरूका ग्रामीण बस्तीहरूबाट बुढा गाई-गोरू र बाछाबाछीहरू समेत सस्तो मूल्यमा लुकिछिपि खरिद गरेर ल्याई सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर भारततर्फ पठाउदै आएका छन् ।

दिनको समयमा भन्दा रात र साझ बिहानको समयमा गाईगोरूको अवैध तस्करी गर्नेहरुले स्थानीयको समेत आँखा छलेर चुरे पहाड कटाउँदै तराईको सर्लाही महोत्तरी र धनुषाको विभिन्न भू-भाग हुँदै भारतीय सीमा क्षेत्रमा पुर्‍याउने गर्दछन् ।गाईगोरूसँगै बाछाबाछीहरुकाे समेत अवैध तस्करी भएका कारणले पहाडी क्षेत्रमा गोरूको अभावमा स्थानीय किसानहरुलाई भने खेतीपातीको काममा समस्या आएको छ ।

सिन्धुलीको मरिण क्षेत्र कमलाखोंच क्षेत्र र कमलामाई नगरपालिकाको माईस्थान क्षेत्रबाट लाखौंको संख्यामा गाईगोरुको अवैध रुपमा तस्करी भइरदा समेत स्थानीय प्रहरी र प्रशासनले भने कुनै चासो देखाउन सकेको छैन ।