१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ढुङ्गा लागेर गम्भीर घाइते महिला वडा सदस्यको हेलिकोप्टरबाट उद्धार


273
Shares

बझाङ । साईपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङ गम्भीर घाइते हुनुभएको छ ।
ढुङ्गा लागेर गम्भीर घाइते भएकी ३२ वर्षीया वडा सदस्य गुरुङ्गकाे हेलिकोप्टरबाट उपचारकाे लागि उद्धार गरिएको छ ।

आइतबार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा माथिबाट ढुङ्गा लागेर टाउकोमा गम्भीर चोट लागेको स्थानीय समाजसेवी तथा काँडा माविका शिक्षक दिपक बोहराले जानकारी दिनुभयो ।

काँडा बाट जिल्ला अस्पताल सम्म ल्याउनका लागि पैदल यात्रा गरेर ३/४ दिन लाग्ने भएका कारण घाइते गुरुङको साईपाल गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टरमार्फत उपचारकाे लागि उद्धार गरिएकाे गाउँपालिकाका अध्यक्ष मान बहादुर बोहराले बताउनुभयाे । झण्डै ५ लाखको लागतमा हेलिकोप्टर बाेलाइएकाे अध्यक्ष बोहराले बताउनुभयो ।

उहाँले भन्नुयाे ‘पालिकामा सुविधा सम्पन्न अस्पातल र दक्ष स्वाथ्यकर्मी नहुँदा यहाँका नागरिकहरुले ४/५ दिनको पैदल यात्रा गरेरै भए पनि सदरमुकाम चैनपुरसम्म धाउनु पर्ने बाध्यता रहेको र यस समस्या समाधानका लागि आफूहरु लागि परेका छाैँ। ’

गरुङ बेला बेला बेहोस हुने गरेको स्थानीय बासिन्दा बताउँछन्। गम्भीर घाइते गुरुङलाई नेपालगंज लगिएको छ । उनी स्थानीय तह निर्वाचन २०७९ मा गाउँपालिका वडा नम्बर ३ बाट महिला सदस्यमा निर्वाचित भएकी हुन् ।