
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल तातेको छ ।
उम्मेदवारहरू आ–आफ्ना एजेण्डासहित मतदाताको घरदैलो पुगिरहेका छन् । घरदैलो अभियानसँगसँगै चुनावी सभा र अन्र्तक्रियासहित चुनावी अभियानमा सक्रिय रहेका उम्मेदवारहरूले मतदाता समक्ष आफ्नो एजेण्डा राख्दै मत मागिरहेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले संविधान कार्यान्वयन, रक्षा र निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि मत दिन आग्रह गर्नुभएको छ ।
नेता सिंहको घरदैलो अभियानमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्तापनि सहभागी थिए । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण पौडेलले पनि निर्वाचन अभियानलाई तीव्रता दिनुभएको छ । उम्मेदवार पौडेलले राष्ट्रियता, युवाका सवाल र विकासका एजेण्डालाई प्राथमिकता दिनुभएको छ ।
नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहनुभएका प्रतिनिधिसभा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रमेश खरेल भने भ्रष्टाचार नियन्त्रण, सुशासन मुख्य एजेण्डा बनाएर मतदातासँग मत मागिरहनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा दलगत र स्वतन्त्र गरी दुई दर्जन बढी उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्