
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहोल गाउँ र शहर केन्द्रित हुँदा सधै भीड-भाड हुने सिंहदरवार भने सुनसान बनेको छ ।
सिंहदरवारमा सेवा लिने सेवाग्राही मात्र नभई सेवा दिने विभिन्न मन्त्रालयका मन्त्रीहरूका कुर्सी पनि अधिकांश खाली भएकाे देखिएकाे छ । सोमबार दिउँसो हाम्रो टोली सिंहदरवार परिसरभित्र रहेका विभिन्न मन्त्रालयहरूमा पुग्दा अधिकांश मन्त्रीहरूका कार्यकक्ष बाहिर रहेका नेम प्लेटमा बाहिर लेखिएको भेटिएकाे छ ।
कतिपय मन्त्रीहरू आफैं उम्मेदवार बनेका छन् भने उम्मेदवार नबनेकाहरू पनि आफ्नो पार्टीका उम्मेदवारहरूलाई भोट माग्न जिल्ला-जिल्लामा पुग्दा मन्त्रालयमा मन्त्रीका कुर्सीहरू समेत खाली देखिएकाे छ ।

यति मात्र होइन, कर्मचारीहरुको ठूलो संख्या पनि चुनावका लागि परिचालन भइसकेकाले मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीहरू भेट्न मुश्किल हुने गरेको छ ।
त्यसो त सेवाग्राहीहरूलाई पनि निर्वाचन माहोल पूरै लागेको अनुभूति सिंहदवार छिर्दा हुने गर्दछ । सिंहदरवारमा भीड गर्नेहरू अधिकांश राजनीतिक कार्यकर्ताहरू हुन । उनीहरू पनि अहिले निर्वाचनकै व्यस्त भइसकेका छन् । जसका कारण सिंहदरवारको भीड कम भएको हो ।
अर्कोतर्फ निर्वाचनकाे माहाेलले मन्त्रालयहरुमा मन्त्री र कर्मचारीको अभाव हुने भएकाले पनि सेवाग्राहीहरु मन्त्रालय धाउन छोडेका छन् । आफूलाई र गाउँ-ठाउँलाई समस्या पर्दा सम्बोधन गर्ने देशको केन्द्रीय प्रशासनिक केन्द्र नै सुनसान बनेकाले देशका अन्य क्षेत्रमा पनि निर्वाचनको प्रभाव पक्कै परेको छ भन्ने बुझ्न कठिन छैन ।
प्रतिक्रिया दिनुहोस्