२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सत्यवती मन्दिरमा चिच्चाएर वर माग्ने प्रचलन कायमै


3.536k
Shares

पाल्पा । पाल्पामा रहेको एक मन्दिरमा चिच्चाएर वर माग्ने मेला लागेको छ ।

पाल्पाको सत्यवती मन्दिरमा सत्यवती बजैले कानले नसुन्ने भएका कारण सदियौंदेखि यो चलन चल्दै आएको हाे । आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासका कारण यस मन्दिरमा वर माग्न टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन् ।

पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवतीमा चिच्चाएर वर माग्ने धार्मिक मेला लाग्दै आएको छ । सत्यवती बजैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढा टाढाबाट भक्तजनहरू मन्दिरमा आउने गरेका छन । मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुर्दशीदेखि पूर्णिमासम्म सत्यवती बजैलाई सम्झेर लिङ्गो गाडी चिच्चाएर वरदान माग्ने र अर्काे दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचलन रहँदै आएको छ । विगतमा आफूले गरेको भाकल पूरा भएपछि सत्यवती बजैलाई बली चढाउनुका साथै मन्दिरको दर्शन गर्न भक्तजनहरू पुग्ने गरेका छन ।

सत्यवती मन्दिरमा चिच्चाएर वरदान माग्न पाल्पा, गुल्मी, स्याङ्गजा कास्कीका साथै भारतको गोरखपुर र लखनउ लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन् । तानसेन बुटवल सडक खण्डको झुम्साबाट करिब २ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । वर्षको एक पटक मात्र पुग्ने धार्मिक पर्यटकलाई बाह्रै महिना आर्कर्षित गर्न गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताउनुहुन्छ ।

पाल्पाको एक मात्र अग्लो स्थानमा रहेको मन्दिरका साथै प्रकृतिक तालको संरक्षण र यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माण हुन सके समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।