७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सोलुखुम्बु एमालेको साझा प्रतिवद्धतापत्र सार्वजनिक


416
Shares

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले आगामी मंसिर ४ गते हुने चुनावका लागि साझा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदका ३ नै जना उम्मेदवारतर्फबाट मंगलबार साझा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो।सल्लेरीस्थित एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष डुफकुमार बास्तोलाले आफूहरुको प्रतिवद्धतापत्र विकासको योजना बैंकको रुपमा रहेको दावी गर्नुभयो ।

प्रतवद्धतापत्रलाई शिक्षा, उद्योग तथा रोजगारी, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक विकास, युवा तथा खेलकुद, भूमिसुधार, वातावरण, कृषि, सडक यातायात, सूचना तथा सञ्चार, पर्यटन तथा संस्कृति, ऊर्जा र विविध गरी १४ मुख्य शीर्षकमा विभाजन गरिएको छ । एमाले सोलुखुम्बुले जग्गाका वर्तमान हदबन्दी असमान रहेको भन्दै जग्गा मूल्याङ्कनका आधारमा तराई, पहाड र हिमाली क्षेत्रको जग्गाको हदबन्दी कायम गर्न पहलकदमी लिने, दूधकोशी नदी, सोलुखोला, हुँगाखोला, इंखु खोला र लिखुलगायतका खोलाहरुमा प्राथमिकताका आधारमा मोटरेबल पुल निर्माणका लागि पहल गरिने जनाएको छ ।

विश्व विद्यालयको एक बहुसंख्य युक्त आङ्गिक क्याम्पस जिल्लामा स्थापना गर्न प्रभावकारी पहल गरिने, जडिबुटी प्रशोधन, नेपाली कागज, अल्लो कपडा बनाउने जस्ता साना उद्योगलाई प्रोत्साहित गरिने, स्वास्थ्य बीमाको व्यवस्थालाई थप प्रभावकारी बनाइने, जेष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका तथा लोपोन्मुख जाति र एकल महिलालाई कम्तिमा खान पुग्ने सामाजिक सुरक्षा भत्ताको व्यवस्थाका लागि पहल गर्ने, प्रत्येक वडामा कम्तिमा एक सामुदायिक पुस्तकालय स्थापना गर्ने प्रतिवद्धतापत्रमा भनिएको छ ।

जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउँदै प्राङ्गारिक तथा अर्गानिक कृषि उपजको उत्पादन केन्द्रका रुपमा विकास गर्न अन्तर सरकार समन्वय गर्ने, स्थानीय जलस्रोतलाई प्रमुख आय स्रोतको रुपमा उपयोग गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरिएकाे छ । प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभातर्फका उम्मेदवार मानवीर राई, राष्ट्रिय सभा सदस्य सोनामग्याल्जेन शेर्पा, प्रदेश सभाका उम्मेदवारद्वय उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।