
डडेल्धुरा । डडेल्धुरामा रहेकाे प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लागिरहेकाे मेला आज (बुधबार) भव्य रुपमा सम्पन्न गरिने भएकाे छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) मा छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) बाट देउरो भगवती मन्दिरमा लगिन्छ र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । जिल्ला सदरमुकामबाट ४ किलोमिटर दूरीमा रहेको प्रसिद्ध उग्रतारामा परिसरमा महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा पूजाअर्चना र दर्शन गर्ने लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेशका पहाड र तराईका जिल्ला, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन प्रत्येक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयाे ।
किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिंदै आएको जनविश्वास रहेकाे छ ।
वर्षमा एक पटक र एक दिन भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति र मनोकामना पूरा हुने जनविश्वास रही आएको छ । परिवारजन, ईष्टमित्र, साथी तथा विभिन्न व्यक्तित्वसँगको अपूर्व भेटघाट र दुःख-सुख आदानप्रदान गरिने सुदूरपश्चिमको जनजीवन झल्किने यो मेलालाई डडेल्धुराबासीले विशेष पर्वकै रुपमा समेत मनाउने गर्दछन ।
प्रतिक्रिया दिनुहोस्