१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचित भएपछि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो


52
Shares

काठमाडौं । पटक पटक मत दिएपनि आफूहरुको आकांक्षामा धोका हुने गरेको गुनासो मतदाताको छ ।

काँठक्षेत्रको मतदाताहरू मलखाद र कृषिमा सुविधा दिए ठूलो गुन लाग्ने बताउँछन् । केही मतदाता आफूले आश गरेकै जनप्रतिनिधिबाट पटक पटक पीडा व्यहोर्नुपरेको गुनासो गर्छन ।

यस क्षेत्रबाट धेरैलाई आफूहरूले निर्वाचित गराएपनि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो छ । उनीहरू हरेक पटक आफूहरूले आश गरेका नेताबाट जहिल्यै निराशा खेप्नु आफ्नो बाध्यता भएको बताउँछन् ।

काँठक्षेत्रका बासिन्दाको प्रमुख आयश्रोत खेतीपाती भएकोले यसपटक जनप्रतिनिधिहरूले इमान्दारपूर्वक बाटो मर्मत र रासायनिक मलको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने चाहना छ ।

काठमाडौ निर्वाचन क्षेत्र ३ आलापोट निवासी माधव पुडासैनी दम्पतीले आफ्नो जीवनकालमा धेरै पटक मतदान गर्नुभएको छ । सामान्य खेतीपाती गर्ने उहाँहरुलाई यो पटक निर्वाचित हुने नेताहरुबाट आश शून्य जस्तै छ ।

यो भन्दा अन्य दिनहरूमा आफ्नो अमूल्य भोट दिएर निर्वाचित बनाएका नेताहरुले देश र जनताका लागि सिन्को भाँच्न सफल नभएको तर्क उहाँको छ । तर पाँच बर्षपछि आएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भोट हाल्न जाने बताउँदै उहाँलाई यो पटक त ‘नो भोट’ को विकल्प भएपनि हुन्थ्यो भन्ने लागेको छ ।

त्यसो त उम्मेद्धवारहरू शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोघाटो लगायतका एजेण्डा बाँड्दै हिँडिरहेका छन् । मतदाता सपना विपनामा परिणत हुनुपर्ने इच्छा प्रकट गर्छन् ।

यो चुनावसँगै मतदानलाई एकदिने चाड मात्र हैन, नेपाल– नेपालीको भविष्य अभ्युदयको साईतका रूपमा रहोस् भन्ने आम मतदाताको चाहना छ ।