१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्वतमा एमाले उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास


2.093k
Shares

पर्वत । नेकपा एमालेका प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ ।

चुनावी प्रचारप्रसारका लागि कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा गएराती आगजनीको प्रयास भएको हो । जिल्लाको जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा राती २ बजेको समयमा आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिनुभयो ।

चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँंगामुडासहित आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिनुभयो । उहाँले जनताको घरमा नै बास बसिरहेको बेलामा केहि युवाहरुले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरु माथि सांघातिक आक्रमणको प्रयास भएको बताउनुभयो ।

गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो । डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएता पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको छ । टायर, लाइट र ढोकाहरुमा आगोले क्षति पु¥याएको छ । गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएका कारण थप क्षति नभएको कुँवरले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका युवाहरुको नेतृत्वमा घटना घटेको एमालेको भनाई छ । कुँवरले आफ्नो जीत सुनिश्चित देखेपछि विरोधीहरु आत्तरिएर आफूहरु माथि सांगातिक आक्रमणमा उत्रिएको बताउनुभएको छ ।

उक्त घटनापछि नेकपा एमाले पर्वतले उम्मेदवारको ज्यान लिने उद्देश्यका साथ भएको उक्त घटनाका दोषीहरुलाई कडा कारबाही गर्न माग गरेको छ । एमाले पर्वत जिल्ला अध्यक्ष राजु पौडेलले एमालेको पक्षमा जनलहर बढेका कारण विरोधीहरुले आपराधिक शैलीमा उम्मेदवार माथि आक्रमणको प्रयास गर्नुलाई पाटीले गम्भिरतापूर्वक लिएको बताउनुभयो । उहाँले आरोपितहरुलाई पक्राउ गरी तत्काल कानून बमोजीम कारबाही गर्न मागे गरेका छन् ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि पर्वत जिल्लाको सुरक्षा प्रशासनमा चुनौति थपिएको छ ।