
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ ।
एन्फाले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो ।
एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुने छ ।
मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुने छ । एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलाप्रथाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।
मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टिम आइतबार नेपाल आइपुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्